शुक्रबार, पुष २६, २०८१
07:09 | १२:५४

नेपालमा बुधबारदेखि एमसीसी कार्यान्वयनमा

नेपाली लिङ्क अगस्ट २९, २०२३

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड

काठमाडौँ — नेपालमा बुधबारदेखि एमसीसी कार्यान्वयनमा जाने भएको छ ।

अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलर अनुदान सहयोग दिने मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा जानु अघिल्लो दिन मंगलबार एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुने कार्यक्रममा सहभागी हुन काठमाडौं आएका हुन्। संसदबाट पास भइसकेको एमसीसी परियोजना बुधबारदेखि कार्यान्वयनमा जाँदैछ।

नेपाल भ्रमणमा रहँदा अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रको भ्रमण गर्ने तथा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरूलाई भेटघाट गर्ने कार्यक्रम छ। उनी १५ गते स्वदेश फर्किने बताइएको छ।

यसैबीच, अमेरिकाले एमसीसीप्रति नेपालमा भइरहेको टीकाटिप्पणीलाई मध्यनजर गर्दै व्याख्यात्मक घोषणासँग सहमत रहेको स्पष्ट पारेको छ ।

अमेरिकी दूतावासले वक्तव्यमार्फत मंगलबार भनेको छ ‘एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौं र नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्ने लगायत कम्प्याक्टका सर्तहरुसम्बन्धी हाम्रो बुझाईसँग उक्त व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ ।’

नेपालको संघीय संसद्को प्रतिनिधिसभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई अनुमोदन गरेको थियो । सोही दिन बेलुकी काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त अनुमोदनलाई लिएर स्वागत गरेको थियो ।

नेपालको संसद्बाट अनुमोदन भएपछि एमसीसी मुख्यालयले पनि त्यसलाई लिएर स्वागत गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू