शनिबार, पुष २७, २०८१
21:55 | ०३:४०

बीसीसी यूकेले नेपाली मेलामा गर्‍यो शान्तिको कामनासहित झाँकी

नेपाली लिङ्क अगस्ट २९, २०२३

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले नेपाली मेलामा शान्तिको कामनाहित झाँकी प्रस्तुत गरेको छ ।

तमुधिं यूकेद्वारा गत २७ अगष्ट आइतबार क्याम्पटन पार्क रेसकोर्ष, लण्डनमा आयोजित १४ औं नेपाली मेलामा बीसीसी यूकेले सदाझैं यसपटक पनि विश्व शान्तिको कामना गर्दै झाँकी प्रस्तुत गरेको हो ।

बीसीसी यूकेका पब्लिक रिलेशन अफिसर मेजर कुमार गुरुङ एमभिओको संयोजकत्वमा उक्त झाँकीमा धर्म गुरु लामा लुङरिग रिन्पोछे, खेन्पो कर्म छुल्त्रिम, खेन्पो फुर्तेम्बा, बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बीइएम, पूर्व अध्यक्ष नरेश गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ, बीसीसी यूके लण्डन शाखाकी आमा प्रमुख दिलमाया गुरुङलगायत आमा र भक्तजनहरुले झाँकीमा भाग लिएका थिए ।


करिब ८० जनाको सहभागिता रहेको उक्त झाँकीमा बौद्ध धर्ममा अत्यन्त महत्व मानिने च्योद् साधना प्रस्तुत गरिएको थियो ।

सो अवसरमा संयोजक मेजर गुरुङले बीसीसी यूकेको बारेमा गराउंदै च्योद् साधनाबारे छोटो जानकारी गराउँदै भने, “अहिले आधुनिक जीवनशैलीका कारण प्रायः धेरैजसो मानिसहरु तनावमा बाँचिरहेका हुन्छन् । र, मानसिक रोगबाट समेत पीडित छन् । जसको अहिले पनि आधुनिक विज्ञानले सही उपचार गर्न सकेको छैन । त्यसैले पछिल्लो समय योग, ध्यान, आध्यात्मप्रति मानिसहरुको आर्कषण बढिरहेको छ । र, बीसीसी यूकेले पनि केही देखि परापूर्व काल देखि चल्दै आएको च्योद् साधनाको अभ्यास गर्दै आएको जानकारी गराउन चाहन्छु ।” 

उनको भनाइमा च्योद् साधना, अहम र घमण्डलाई क्षेदन गर्ने विधि हो र यो विधि ३ प्रकारका हुन्छन् । 

सो क्रममा बीसीसी यूकेले संस्थाको व्यानर, शाक्यमुनी बुद्ध मूर्ति, बौद्ध धर्म ग्रन्थ, नेपाली झण्डा, बेलायती झण्डा, डमरु घण्टी, धुप धुवँरलगायत महत्वपूर्ण बौद्ध सामाग्रीका साथ सम्पूर्ण प्राणीको कल्याण, सुस्वास्थ्य एवं शान्तिको कामनासहित ३ प्रकारका च्योद् साधना प्रस्तुत गरेको थियो ।

सोही क्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले च्योद् साधना प्रस्तुत् गर्ने सबै भक्तजनमा धन्यवाद दिए । उनले नेपाली मेला आयोजक तमुधिं यूकेलाई समेत धन्यवाद ज्ञापन गरे । 

करिब १० हजार भन्दा बढी दर्शकको सहभागिता भएको उक्त मेलामा बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यले प्रमुख आतिथ्य ग्रहण गरेका थिए ।

त्यस्तै, बेलायतमा रहेको विभिन्न देशका कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको समेत बिशेष उपस्थिति थियो । 

करिब ३० वटा नेपाली संघसंस्थाले भाग लिएको उक्त झाँकीमा बीसीसी यूकेले विशेष सहभागिता जनाएको हो । उक्त मेलाको औपचारिक कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङको अध्यक्षता गरेका थिए भने महासचिव डा. विशाल गुरुङले संचालन गरेका थिए ।

सो मेलाको आकर्षण एम्बासडर कपतर्फ किराँत राई यायोख्या यूके प्रथम, घान्द्रुक समाज यूके दोस्रो र पासा पुचः यूकेले तेश्रो स्थान हासिल गरेका थिए । त्यस्तै, नृत्यतर्फ घान्द्रुक समाज यूके प्रथम, किरात राई यायोख्या दोस्रो र पासा पुचः यूकेले तेश्रो स्थान हात पारे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू