बेलायतको एअर ट्राफिक कन्ट्रोलमा समस्या, हजारौं यात्रु अलपत्र
लन्डन । बेलायतमा हजारौँ हवाई यात्रुहरूले कठिनाइको सामना गरिरहेका छन् । बेलायतको एयर ट्राफिक कन्ट्रोलको प्राविधिक समस्याका कारण हजारौँ उडान रद्द वा ढिलो गरी सञ्चालन भइरहेका छन् ।
बेलायतमा एयर ट्राफिक कन्ट्रोल गर्ने नेटले उडानसँग सम्बन्धित योजना प्रणाली बिग्रिएको बताएको छ । यसै कारण अब उडानको योजना कुनै प्रणालीविना नै गर्नुपर्ने भएको छ । अर्थात् जुन गतिमा मेसिनले काम गर्दथ्यो, अब त्यो काम मानिसले गर्नुपरेको छ ।
त्यसैले पनि यसमा ढिलाइ भइरहेको छ । यो प्राविधिक गडबडीका कारण मानिसहरू बेलायत र विदेशमा अलपत्र परेका छन् । राष्ट्रिय वायु ट्राफिक सेवाले अवतरण गर्न सक्ने विमानहरूको सङ्ख्या सीमित गरेको छ ।
केही घण्टामै समस्या समाधान भए पनि सेवामा ढिलो हुने विमानस्थल र वायुसेवा कम्पनीले जानकारी दिएको छ । एक यात्रुले बीबीसीलाई उनको उडान दिउँसो भएको तर मध्यरातपछि पनि निस्कन नसकेको बताएकी छन् ।
यात्रुले केही दिनसम्म यस्तो समस्या भोग्नुपर्ने सम्भावना पनि व्यक्त गरिएको छ । लन्डनको हिथ्रो विमानस्थलले सोमबार राति मङ्गलवार यात्रा गर्नुपर्ने यात्रुले विमानस्थलमा आउनुअघि एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्नुपर्ने बताएको छ ।
अन्य एयरपोर्टका यात्रुहरूलाई पनि यस्तै सल्लाह दिइएको छ । यो प्राविधिक समस्याको असर ब्रिटिस एयरवेज, भर्जिन एट्लान्टिक, टियूआइका उडानमा पनि देखिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५