सोमबार, मंसिर १०, २०८१
19:24 | ०१:०९

विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन प्रक्रिया सुरु

नेपाली लिङ्क अगस्ट १५, २०२३


काठमाडौं—गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेटघाट भएको छ । 

निर्वाचन आयोगमा भएको भेटमा संघका कार्यकारी अध्यक्ष केसीले विदेशमा रहेका नेपालीको मताधिकार कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा चासो व्यक्त गरेका थिए ।  

उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन प्रक्रिया सुरु भएको र विदेशमै गएर नामावली संकलनको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैरआवासीय नेपालीसँग पनि सहकार्य र समन्वय गरेर मतदाता नामावली संकलन गर्ने बताए । त्यसका लागि गैरआवासीय नेपाली संघले सहकार्य, समन्वय र सहजीकरण गर्नुपर्ने आयुक्त थपलियाले बताए । 

नामावली संकलन लगायतका लागि आवश्यक कानूनसहित केही आन्तरिक तयारी पूरा गरी आयोगले छिट्टै बाँकी काम सुरु गर्ने उनको भनाई थियो ।  

सो अवसरमा कार्यकारी अध्यक्ष केसीले संघका विभिन्न देशस्थित राष्ट्रिय समन्वय परिषद् र एनआरएनए प्रतिनिधि तथा अभियन्तामार्फत आयोगको काममा सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता जनाए । 

भेटमा आयोगका उपसचिव सूर्यप्रसाद गौतम, संघका प्रवक्ता सोम सापकोटा र सरोज दाहालको उपस्थिति थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू