थुनामा रहेका भुटानी नेता रिजालसंग मानव अधिकारवादीहरुको भेटघाट
काठमाडौँ- नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालसंग मानव अधिकारवादीहरुको एक समूहले भेटघाट गरेको छ।
आइतबार त्रिपुरेश्वरस्थित सेन्ट्रल जेलमा उनीसंग झन्डै एक घण्टा भेट गरी कुराकानी गरेको एकजना मानव अधिकारवादी नेता चरण प्रसाईले बताए ।
‘आफ्नो स्वास्थ्यमा केही सुधार आएको उहाँले बताउनु भयो। उहाँको मनोबल उच्च रहेको हामीले पायौं। उहाँले भुटान भित्रै मानव अधिकारका लागि लडिरहेका नेपाली भाषी भुटानी (लोत्सम्पा) हरु साथै हाल पूर्वी नेपालका शिविरहरुमा रहेका झन्डै साढे ६ हजार भुटानी शरणार्थीहरुको भविष्यका बारेमा चिन्ता व्यक्त गर्नुभयो,’ प्रसाईंले भने।
भुटानी मानव अधिकारवादी नेता रिजाललाई भेट्न जानेहरुमा प्रसाईंसहित इन्हुरेड इन्टरन्याशनलका अध्यक्ष डा गोपालकृष्ण शिवाकोटी, एमनेष्टी इन्टरन्याशनल नेपालका अध्यक्ष बिपिन बुढाथोकी, पूर्व अध्यक्ष राजन कुइंकेल, निर्देशक निरञ्जन थपलिया, डा केदार नरसिंह केसी तथा एमनेष्टी इन्टरन्याशनलकी पूर्व बोर्ड सदस्य रिज थिए।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका भुटानी नेता टेकनाथ रिजाललाई तत्काल रिहा गर्न ‘राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान’ ले माग गरेको थियो ।
उनलाई सुरक्षा थ्रेटका साथै स्वास्थ्यसम्बन्धी समस्या समेत भएकोले तत्काल रिहा गर्न अभियानले माग गरेको हो। अभियानका संयोजक राम कार्कीले गत बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।
‘भुटान भित्रै रहेका मानवअधिकारका पक्षधरलाई खोजीखोजी जेलमा बन्दी बनाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दु:खदायी र पीडादायी जीवन बिताउन भुटानी राजाले विवश बनाइरहेका छन्। उनीहरूको तत्काल रिहाइका लागि भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्दछ।’
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये दुई जना अभियुक्त बाहेक अन्य सबै थुनामा छन्। थुनामा रहेकामध्ये केहीले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५