आइतबार, भदौ २३, २०८१
05:56 | १०:४१

नेपालमा बाल अस्पताल निर्माण परियोजनाका लागि बेलायतमा च्यारिटी डिनर

नेपाली लिङ्क जुलाइ ९, २०२३

लन्डन – वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाले नेपालमा गएको झन्डै एक दशकदेखि शिशु मृत्युदर घट्न  नसकेको भन्दै बाल मृत्युदर घटाउन सरकार तथा गैर सरकारी क्षेत्र सबैले मिलेर काम गर्नुपर्ने बताएका छन्।

शनिबार बेलायतको अल्डरशटमा आयोजित एक च्यारिटी डिनरलाई सम्बोधन गर्दै डा. कोइरालाले नेपाल डेमोग्रफिक एण्ड हेल्थ सर्भे २०२२ का अनुसार सन् १९९६ देखि सन् २०१६ को बीचमा नेपालमा हरेक एक हजार शिशु जन्मंदा हुने मृत्यु ५० बाट २१ मा झरेको तर त्यसपछि शिशु मृत्यु दर घट्न नसकेको बताए।

‘अहिले पनि नेपालमा विशिष्टीकृत सेवा पाउन नसकेका कारण ठूलो संख्यामा बालबालिकाको मृत्यु भै रहेको छ।  त्यसैले काठमाडौँमा सीमित बाल स्वास्थ्य सेवालाई देशका सबै प्रदेशमा फैलाउन आवश्यक छ,’ उनले भने ।

डा कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) ले नेपालका सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ।

‘यी बालबालिकाले अवसर पाए भने भविष्यमा जादू गर्न सक्छन् त्यसैले बालबालिकाको ज्यान जोगाउन म यो अभियानमा लागेको हुँ,’ डा कोइरालाले भने।

सोही समारोहमा बोल्दै हाल बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा रजिस्टर्ड नर्सको रुपमा कार्यरत उत्साह बस्नेतले आफू ३ वर्षको हुँदा डा कोइरालाले आफ्नो ‘ओपन हर्ट सर्जरी’ गरेको ठूलो भए पछि थाहा पाएको बताइन्। उनकै प्रेरणाले आफू स्वास्थ्य क्षेत्रमा लागेको पनि उनले जनाइन्।

कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा गएको केही दशक यता शिक्षा, स्वास्थ्य, यातायात तथा संचारको क्षेत्रमा निकै प्रगति भएको तर अझै धेरै काम गर्न बांकी रहेको बताए। 

उनले भविष्यको कर्णधारको रुपमा रहेका बालबालिकाले अवसर पाए नेपाल र विश्वकै लागि योगदान गर्न सक्ने भएकाले उनीहरुको समयमै उपचार गर्नु निकै महत्वपूर्ण हुने जनाए। उनले डा कोइरालाले शुरु गरेको सत्कार्यमा सघाउन सबैलाई आग्रह पनि गरे।

उक्त अवसरमा नेप्लिज डक्टर्स एसोसिएसन यूके, तमुधिं यूके लगायतका संस्थाले नेपालमा बाल अस्पताल निर्माण परियोजनाका लागि सहयोग घोषणा गरेका थिए। 

बेलायतमा दर्ता भएको कल्याणकारी संस्था, हेल्थ एक्सचेन्ज नेपालले पनि उक्त परियोजनाका लागि अनलाइन सहयोग संकलन गरिरहेको छ। 

कार्यक्रममा नेप्लिज डक्टर्स एसोसिएसन यूके र कियोचबीच तालिम, प्रशिक्षण, सीप हस्तान्तरण लगायत क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी एक समझदारी पत्रमा पनि हस्ताक्षर गरिएको थियो। 

उक्त समझदारी पत्रमा कियोचको तर्फबाट डा कोइराला तथा एनडीए यूकेको तर्फबाट अध्यक्ष डा कमल अर्यालले हस्ताक्षर गरेका छन्। 

उक्त अवसरमा प्रसुना कंडेल तथा सनम बैरागले ‘मेरो मुटु’ नामक एकांकी नाटक प्रस्तुत गरेका थिए भने शर्मिला बर्देवा, सितु खरेल, डा. सुदर्शन गुरुङ लगायत कलाकारले पनि प्रस्तुति दिए। फ्रेन्ड्स अफ कियोच यूके संयोजक ओजेश सिंह तथा सह-संयोजक लक्ष्मी राई (लारा) ले सबैलाई धन्यवाद दिए।

यस अघि गत साता ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुखको कार्यालयमा आयोजित एक कार्यक्रममा सभामुख सर लिन्ड्से होयलले डा कोइरालाको कामबारे सुनेर आफू निकै प्रभावित भएको बताएका थिए । उनले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउंदै नेपालमा बाल अस्पताल निर्माण परियोजनालाई सघाउन सबैलाई आग्रह गरेका थिए।

बेलायतको भ्रमण टुंग्याएर डा कोइराला आइतबार स्वदेश फर्केका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू