एनआरएनए यूके उपाध्यक्षमा काम देखाएका गोविन्द महासचिवमा उम्मेदवार
लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही जुलाइ २२ मा तय निर्वाचनले यहाँको नेपाली समुदायलाई अब तताइसकेको छ। निर्वाचन नजिकिंदै जाँदा विभिन्न पदका उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारलाई तीव्र पारेका छन्।
विभिन्न पद तथा तहमा रहेर अनुभव संगालेपछि नयाँ कार्यसमितिको लागि झन् उपल्लो पदमा उम्मेदवारी दिने प्रव्रित्ति सामान्य छ। तर यही ‘ट्रेन्ड’ बीच वर्तमान कार्यसमितिका उपाध्यक्ष गोविन्द खरेल भने अपवाद बनेका छन्।
दुई वर्षअघि निर्वाचित कार्यसमितिका उपाध्यक्ष खरेल यतिबेला महासचिव पदको उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्। पदका हिसाबले एक तह घटेरै उम्मेदवारी दर्ता गराएका उनी भन्छन्, ‘मैले आफ्नो मात्रै स्वार्थ हेरेको भए पक्कै उपल्लो पद ताक्ने थिएं । आफ्नो अनुभव र क्षमता संस्थाको हितमा योगदान गर्छु भन्ने संकल्प गरेर पद नहेरी अगाडि आएको छु।’
आफ्नो लागि नभइ संस्थाकै लागि आफू महासचिव उम्मेदवार बनेको उनको दावी छ।
सन् २०१९-२१ मा इंग्ल्याण्ड राज्य समन्वय परिषदको सचिव निर्वाचित भएर पहिलोपटक एनआरएनए यूकेको कार्यकारी भूमिकामा आएका थिए खरेल। दीपक श्रेष्ठ नेतृत्वको इंग्ल्याण्ड राज्य समन्वय परिषद संस्थापक समितिको प्रशंसायोग्य सक्रियताका पछि सचिवका हैसियतमा उनको महत्वपूर्ण भूमिका थियो।
सन् २०२१-२३ कार्यकाललाई खुला उपाध्यक्षमा निर्वाचित भएर आएपछि त झन् खरेलले संस्थाकै केन्द्रमा रहेर काम देखाए। अध्यक्ष प्रेम गाहालाई अग्रपंक्तिमा रहेर सघाउनदेखि उनले संस्थाभित्र एड्मिन, प्राविधिक र सांगठनिक कार्यसमेतमा आफ्नो कुशल क्षमता प्रदर्शन गर्न सफल भए।
संस्थाको च्यारिटी विभाग संयोजक रहेका खरेलले विगत दुई वर्षमा विभिन्न १७ वटा कार्यक्रम संयोजन गरे र अन्य हरेक कार्यक्रममा सक्रियतापूर्वक खटिए।
आइटी र मार्केटिङ एन्ड बिजनेसमा एमएस्सी गरेका खरेलले जनप्रशासन र तथ्यांकशास्त्रमा पनि डिग्री लिएका छन्।
यसअघि दुई कार्यकालको अनुभव अब महासचिवको रुपमा संस्थाको समग्र सुधारमा उपयोग गर्न गोविन्द चाहन्छन्। सोही अवसरका लागि उनले बेलायतवासी नेपालीसमक्ष सहयोगको अपील गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५