शनिबार, पुष २७, २०८१
11:56 | १७:४१

एनआरएनए यूके अध्यक्षमा हित काजीलाई समर्थन गर्दै एलबीजेडले उम्मेदवारी फिर्ता लिने सहमति

नेपाली लिङ्क जुलाइ ४, २०२३


लन्डन । एनआरएनए यूके अध्यक्ष पदका उम्मेद्वार एलबीजेड गुरुङले अर्का उम्मेदवार हित काजी गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङसमेतको पहलमा मंगलबार बेलुका अल्डरसटमा भएको छलफलमा एलबीजेडले हित काजीलाई समर्थन गर्ने सहमति बनेको हो।

सहमतिअनुसार उम्मेदवारी फिर्ताका लागि सारिएको बुधबार दिउँसो एक बजेभित्र एलबीजेडले उम्मेदवारी फिर्ता लिनेछन् ।

हित काजीलाई समर्थन गर्ने सहमतिपछि नेपाली लिंकलाई प्रतिक्रिया दिँदै एलबीजेड गुरुङले आफू हारेर भएपनि संस्था बाँच्नुपर्ने आफ्नो मान्यता रहेकाले पछि हट्न तयार बनेको बताए । उनले भने,  ‘म एक जनाले त्याग गर्दैमा सहमति बन्छ र संस्थाको हित हुन्छ भने किन नगर्ने भन्ने मैले सोचेको हुं ।’

एलबीजेडको समर्थन जुटाएसंगै उत्साहित बनेका हित काजी गुरुङले अन्य दुई उम्मेदवारसंग पनि सहमतिका लागि प्रयास जारी राख्ने बताए । ‘बुधबार उम्मेदवारी फिर्ताको समयसीमासम्म सहमति निर्माण गर्ने मेरो प्रयास जारी रहन्छ’, उनले भने ।

उता, सहमतिको पहल गर्ने नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले पनि सबै डेमोक्रयाट उम्मेदवारहरुबीच सहमति बनाउने संगठनको नीति कायम रहेको बताए । उनले भने, ‘हाम्रो पहलमा दुई उम्मेदवारबीच सहमति बनेकोमा खुशी छौं । अब सके सबै, नभए कमसेकम अर्का एक उम्मेदवारसंग सहमति बनाउने हाम्रो प्रयत्न रहनेछ ।’

सहमति जुटाउने निर्णायक छलफलमा सहभागी तमुधिं यूके उपाध्यक्ष कमल कोने गुरुङले संस्था जोगाउने पहलस्वरुप दुई उम्मेदवारलाई एक ठाउंमा ल्याएको बताए ।

उक्त अवसरमा एनआरएनए यूकेका पूर्व कोषाध्यक्ष दिलरस गुरुङका साथै एनआरएनए यूकेका सक्रिय युवा अभियन्ताहरु बिरेन खड्का र राजेन गुरुङ पनि सहभागी थिए ।

एलबीजेड पछि हट्ने सहमतिपछि आगामी जुलाई २२ मा तय एनआरएनए यूके निर्वाचनमा अध्यक्ष पदका लागि अब हित काजीसंगै दिनेश घिमिरे र नारायण कंडेल मैदानमा रहने भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू