शनिबार, पुष २७, २०८१
12:06 | १७:५१

एनआरएनए यूके अध्यक्ष उम्मेदवार घिमिरेले सार्वजनिक गरे पाँच बुंदे प्रतिबद्धतापत्र

नेपाली लिङ्क जुलाइ ३, २०२३

लन्डन । एनआरएनए यूके अध्यक्ष उम्मेदवार दिनेश घिमिरेले आफ्ना चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।

सोमबार साँझ एक भर्चुअल पत्रकार सम्मेलनमार्फत् उनले पाँच बुंदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिवद्धता सार्वजनिक गर्दै घिमिरेले संस्थागत सुधार, बेलायतवासी नेपालीबीचको सामाजिक सद्भाव अभिवृद्धि र सामाजिक अभियानको निरन्तरतासहितका प्रमुख तीन क्षेत्रमा काम गर्ने आफ्नो अठोट व्यक्त गरे ।

चुनावी प्रतिबद्धतापत्रको पहिलो बुंदामा घिमिरेले ‘संस्थागत विकास र सुदृढ संगठन’ को एजेण्डा राखेका छन्। उनले दोस्रो बुंदामा ‘पूर्व गोर्खाज, सम्पत्तिको सुरक्षा र नागरिकताको निरन्तरता’ तथा तेस्रोमा ‘नेपाली विद्यार्थी- हाम्रो सरोकार’ को एजेण्डा ल्याएका छन्। त्यस्तै, ‘आजको युवा भोलिका भविष्य’ र ‘लगानीको अवसर विज्ञताको कदर शीर्षक’का अन्य दुई एजेण्डा पनि उनको प्रतिबद्धतापत्रमा अटाएका छन् ।

संस्थागत विकास र सुदृढ संगठनको एजेण्डाअन्तर्गत निर्वाचित कार्यसमितिको निर्देशन र अनुगमनमा कार्यालय सञ्चालन गर्ने, उक्त कार्यालयबाट आम सदस्यका सरोकारका समस्याहरु समाधानको पहल गर्ने, सदस्यता बाह्रै महिना खुला राख्ने, परोपकारी कार्यहरुको संयोजनका लागि विधानको परिकल्पनाअनुसारको एनआरएनए फाउन्डेसन शुरु गर्ने, संगठनको ढाँचा र कार्यशैलीमा पुनर्विचार गर्दै संस्थालाई समयसापेक्ष बनाउने कार्यक्रम घिमिरेले अघि सारेका छन् ।

त्यस्तै, पूर्व गोर्खाहरुको मुद्धामा जारी त्रिपक्षीय वार्तालाई तार्किक र उपलब्धिमुलक निष्कर्षमा पुर्याउन पहल गर्ने, पूर्व गोर्खा परिवारका वृद्ध वृद्धाहरुको सहयोगका लागि हेल्प डेस्क सञ्चालन गर्ने, गैरआवासीय नेपाली नागरिकतालाई पूर्ण अधिकारयुक्त बनाउन तथा गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षाका लागि नेपालको संसद तथा सरकारसंग निरन्तर पहल गर्ने उनको प्रतिबद्धता छ।

अध्यक्ष उम्मेदवार घिमिरेले अध्ययनका क्रममा दुई वर्षभन्दा लामो समय विदेशमा बस्ने नेपाली विद्यार्थीलाई एनआरएनएको सदस्यता दिलाउने, विद्यार्थीलाई आवश्यक सहयोग र जानकारी उपलब्ध गराउनेदेखि विभिन्न क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गरेका स्कलर, युवालगायतको पहिचान गरी उनीहरुलाई विभिन्न कार्यक्रममार्फत् नेपालको हितमा हुने गरी परिचालन गर्न पहल गर्ने पनि प्रतिबद्धता गरेका छन्।

पत्रकार सममेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिंदै घिमिरेले सहमतिका लागि अन्य उम्मेदवारहरुसंग सकारात्मक छलफल भइरहेको जानकारी दिए । एनआरएनए यूकेको आन्तरिक विवाद समाधानका लागि सबै पक्षसंग छलफलका लागि तयार रहने तर प्रक्रियाभन्दा बाहिर गएर सहमति खोज्न नसकिने उनले स्पष्ट पारे ।

एनआरएनए यूकेलाई परम्परावादी संस्थामा सिमित नराखेर गतिशिल बनाउँदै लैजान तथा संस्थाभित्रका विवादहरुलाई चर्कन नदिइ समाधानतर्फ डोर्याउनका लागि आवश्यक परिपक्व नेतृत्व प्रदान गर्न आफू सक्षम रहेको आत्मविश्वास उनले व्यक्त गरे ।

त्यस अवसरमा एनआरएनए आइसीसी सदस्य राजेन्द्र पुडासैनीले एनआरएनए यूकेलाई कुशल नेतृत्व दिन घिमिरे योग्य र क्षमतावान रहेको चर्चा गरेका थिए।

एनआरएनए यूकेका पूर्व महासचिव डा कृष्ण उपाध्यायले सञ्चालन गरेको पत्रकार सम्मेलनमा अध्यक्ष उम्मेदवार घिमिरेनिकट अन्य पदका उम्मेदवारहरुका साथै बेलायत तथा युरोपस्थित केही नेपाली सञ्चारकर्मीसमेतको सहभागिता थियो ।

घिमिरेको प्रतिबद्धतापत्र:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू