शनिबार, पुष २७, २०८१
11:56 | १७:४१

पत्रकार, मानवअधिकारकर्मी हुंदै एनआरएनए यूकेको अध्यक्षका प्रत्यासी बने डा. कंडेल

नेपाली लिङ्क जुलाइ २, २०२३

डा. नारायण कंडेल

लन्डन । एनआरएनए यूकेको नयां नेतृत्वका लागि अध्यक्षका चार प्रत्यासीमध्ये एक सशक्त दावेदार हुन् डा. नारायण कंडेल । सन् २०१९ मा उपाध्यक्ष निर्वाचित भएपछि अर्को कार्यकाल उपाध्यक्ष नै बनेर खारिएका उनी यसपटक अध्यक्षको उम्मेदवार बनेका छन् ।

नर्दन आयरल्याण्ड बस्छन् कंडेल । त्यहां उनको व्यवसाय छ । त्यति टाढा भएपनि एनआरएनए यूकेका हरेक बैठक र कार्यक्रम उनले मिस गरेनन् । बरु उनी समयभित्रै टुप्लुक्क आइपुग्थे । लन्डन आएर होटल बास, साथीभाईसंग चिया चमेना अनि चन्दा । यस्तो खर्चिलो संस्थामा उनी किन मरिहत्ते गरेर लागिरहेका छन् ? उनको संक्षिप्त जवाफ छ, ‘मेरो एनआरएनए यूके प्रतिको लगाव नै हो । बेलायतमा यही एकमात्र संस्थाको कार्यकारी सदस्य छु म । यसैमा दत्तचित्त भएर लाग्ने छु ।’

सन् २०१७ को जुन महिना थियो । त्यतिखेर अध्यक्ष थिए मुछेत्र गुरुङ । ‘एम २५’ भन्दा बाहिर थिएन एनआरएनए यूकेको उपस्थिति । नारायणलाई लागिरहेको थियो कि यो संस्था लन्डनका मानिसको मात्र किन हुने ? लन्डन बाहिर इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा पनि त नेपाली बढेका छन् । त्यसपछि अध्यक्ष मुछेत्रलाई उनले गुनासोसहित चेतावनी दिए, ‘तपाईंहरु लन्डन केन्द्रित भइरहने हो भने हामी यो संस्था वहिष्कार गर्छौं ।’

विगत स्मरण गर्दै उनले थपे, ‘मैले आफ्नो गुनासो राखेपछि नर्दन आयरल्याण्डबाट मेरै नेतृत्वमा अभियान शुरु गरेका थियौं मुछेत्र दाईले १३ जुन २०१७ मा वार्ता गर्न बोलाउनु भयो । अनि इंग्ल्याण्ड, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्समा राज्य परिषद विस्तार गरियो ।’

प्रशंसा र आलोचना दुवै सहेर एनआरएनए यूकेमा 
निरन्तर लागिरहने पात्र हुन् नारायण । कानूनका कुरा हुन् वा विधानका । संस्थाले गर्ने कुनै कार्यक्रम होस् वा बैठक, उनको सुझाव सल्लाह नभइ हुन्थेन । अहिले पछिल्लो सदस्यता ट्रेन्ड हेर्ने हो भने एनआरएनए यूकेमा जहांसुकै लोकप्रियता खस्किएको देखिन्छ, हरेक क्षेत्रबाट थोरै सदस्य बनेका छन् । तर, उनको आफ्नो क्षेत्र नर्दन आयरल्याण्डमा मात्र १२७ जनाले सदस्यता लिए । उनका भनाइमा विगत भन्दा यसपटक २७ प्रतिशतले बढ्यो सदस्यता संख्या ।

‘स्कटल्याण्ड, इंग्ल्याण्ड र वेल्समा पूर्ण कार्यसमिति बनेन, तर नर्दन आयरल्याण्डमा पुरै कार्यसमिति बन्यो’, उनी भन्छन्, ‘मेरो र आफ्नो क्षेत्रको लोकप्रियता उस्तै छ । तर म चाहन्छु यो लोकप्रियता संयुक्त अधिराज्यभरि नै होस् । त्यसका लागि मतदाताले मलाई ‘लिड’ गर्ने अवसर दिनुपर्छ ।’

उनी यसपटक कुनै पार्टी वा संस्थाको सहाराबिनै एक्लै अध्यक्ष लडेका छन् । कांग्रेसले एलबीजेड गुरुङ, ओएनएफले दिनेश घिमिरे र तमुधिं यूकेले हितकाजी गुरुङलाई बोकेपनि आफ्नो पक्षमा कार्यसमितिका पदाधिकारीले मात्र मद्दत गरेको उनी बताउंछन् ।

‘म स्वतन्त्र रुपमा उठेको छु । स्वतन्त्र हुंदा जसरी काम गर्न सकिन्छ, अरुको प्रभाव रहे ‘ब्रेक’ लाग्ने भएर म एक्लै मैदानमा उत्रिएको हुं’- उनले प्रष्टयाए ।

को हुन् नारायण कंडेल ?
नेपालमा बाग्लुङ बीउंकोटका उनी सन् २०१० मा स्थायी रुपले बेलायत आए । नेपाल छंदा कानून र पत्रकारिता उनको पेशा थियो । नेपाल पत्रकार महासंघ धौलागिरीको सभापति समेत भएका उनी कानून व्यवसायी र मानवअधिकार अभियानमा अहोरात्र खटिने अधिकारकर्मी थिए ।

सन् २००८ मा उनले आइसीएचआरसीको स्कलरसीपमा नेशनल युनिभर्सिटी अफ आयरल्याण्डबाट मास्टर्स गरे । त्यसपछि सन् २०१० मा टिजेआइ (ट्रान्जिसनल जस्टिस इन्टरनेशल) को छात्रवृत्तिमा हयुमन राइट्स एण्ड ट्रान्जिसनल जस्टिसमा एलएलएम गरे । यसपछि एनआरएनमा लाग्दै गर्दा गत २५ जनवरी २०२३ मा क्वीन्स युनिभिर्सटी बेलफास्टबाट नेपालको सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रता (फ्रिडम अफ एक्सप्रेसन) विषयमा पिएचडी गरेपछि उनी डा. नारायण कंडेल भएका छन् । संस्थागत सुधार र सबैको साझा एनआरएन बनाउन उनको यात्रा जारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू