बेलायतमा युरोपेलीको ‘फ्रि मुभमेन्ट’ बन्द गर्ने विधेयक पारित
अंकमा आधारित इमिग्रेसन प्रणालीको बाटो खुला
लन्डन । बेलायतमा युरोपेली मुलुकका नागरिकको स्वतन्त्र आवतजावत (फ्रि मुभमेन्ट) बन्द गर्ने विधेयक बेलायती संसदले पारित गरेको छ ।
‘द इमिग्रेसन एन्ड सोसल सेक्युरिटी कोअर्डिनेसन’ ( ईयू विथड्रल बिल) विधेयकको पक्षमा मंगलबार बहुमत बेलायती सांसदहरुले मत दिएका छन् ।
सरकारले प्रस्ताव गरेको उक्त विधेयकको पक्षमा ३ सय ४२ मत र विपक्षमा २ सय ४८ मत परेको थियो ।
युरोपेली संघबाट बाहिरिएसंगै बेलायतले अंकमा आधारित (पोइन्ट बेस्ड्) इमिग्रेसन प्रणालीमा जाने घोषणा गरिसकेको छ ।
अहिले पारित विधेयकले सोही अंकमा आधारित नयाँ इमिग्रेसन प्रणालीमा जाने बाटो खोलिदिएको छ ।
आउँदो वर्षको शुरुदेखि कार्यन्वयनमा आउने नयाँ व्यवस्थापछि बेलायतमा युरोपेली देशका नागरिकहरुले पाउंदै आएको विशेष अधिकार अन्त्य हुनेछ ।
बेलायत सरकारकी होम सेक्रेटरी प्रिति पटेलले गत वर्षको निर्वाचनमा बेलायती जनताले ‘फ्रि मुभमेन्ट’ बन्द गर्ने पक्षमा म्यान्डेट दिएको भन्दै अहिले पारित विधेयकले सोही म्यान्डेट पूरा गरेको प्रतिकृया दिएकी छन् ।