शनिबार, पुष २७, २०८१
14:44 | २०:२९

धन कसरी कमाउने ? बेलायतमा ६ अगष्टमा सिकाईंदै

नेपाली लिङ्क जुन ३०, २०२३

लन्डन । बेलायतमा आउँदो ६ अगष्टमा पाँचौ ‘अन्लिस योर इन्नर सेल्फ’ इभेन्ट हुने भएको छ । माउसटेल वेव सर्भिसेस् अल्डरसटले कार्यक्रम गर्न लागेको हो ।

माउसटेलका निर्देशक मान गुरुङले स्वास्थ्य, धन र नेतृत्व विकासलगायत विषयमा छलफल हुने कार्यक्रम सुसीमोतो रेस्टुरेन्ट अल्डरसटमा बिहान साढे ९ बजे र दिउँसो ४ बजे दुई चरणमा हुने जानकारी दिए ।

कार्यक्रममा आफूभित्रबाट नै शक्ति निकाल्ने र शान्ति, खुसी र धन आर्जन गर्नका लागि सिकाउने जनाइएको छ ।

कार्यक्रम युवा तथा अभिभावक, सामाजिक नेतृत्व गर्ने र युवादेखि वृद्धसम्मलाई लक्षित गरी आयोजना गरिएको गुरुङले बताए । उनका अनुसार व्यावसायिक तथा सामाजिक मिश्रित कार्यक्रम भएकाले चाहना हुने तर पैसा नभएको खण्डमा निशुल्क सहभागी गराइने छ ।

यसपटक स्वास्थ्यसम्बन्धी डा विशाल गुरुङ, पोषणसम्बन्धी दिग्विजय घले, व्यवसायबारे सुमन पुन, लेखासम्बन्धी श्याम श्रेष्ठ र ट्रान्फर्मेसनबारे मान गुरुङले प्रशिक्षण दिनेछन् ।

कार्यक्रम आयोजना गर्नुको कारण खोतल्दै गुरुङ भन्छन्, ‘हामीले नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कसरी रुपान्तरण गर्ने, कसरी विकास गर्ने, कसरी प्रगतिशील बनाउने भन्ने सोचले कार्यक्रमको डिजाइन गरिएको हो ।’

कार्यक्रममा ग्रेटर रसमोर नेप्लिज कम्युनिटी यूके, पेपरवर्क सोलुसन्सलगायत संस्थाको सहयोग छ । मुनाफाबाट आएको केही रकम युवा तथा वृद्धहरुको सहयोगमा खर्चिने समाजसेवी तथा जीआरएनसीका अध्यक्षसमेत रहेका मान गुरुङले बताए ।

उक्त कार्यक्रममा विश्वमा प्रयोग गरिएको अतिविशिष्ट औजारहरु तथा तरिकाहरु प्रयोग गरिने छ । गुरुङले कोभिड, लकडाउन अघिदेखि निरन्तर कार्यक्रम गरेर हजारौं व्यक्तिलाई शान्ति, खुसी, सुखी र धन आर्जनबारे चेतना फैलाउंदै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू