आइतबार, मंसिर ९, २०८१
11:53 | १७:३८

बेलायतमा ‘गंगाराज राई एकल साँझ’ गरिंदै

नेपाली लिङ्क जुन २९, २०२३

लन्डन । नेपाली कला साहित्य मञ्च यूकेले गायक ‘गंगाराज राई एकल साँझ’ आयोजना गर्ने भएको छ ।

आगामी अक्टुबर ७ तारिख आसफोर्ड केन्टस्थित शेन्ट साइमन हलमा कार्यक्रम गरिने भएको हो ।

गायक राईले आफ्नो सांगीतिक यात्राको दुई दशक पूरा गरेको अवसरमा उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम थप आकर्षक बनाउन लाइभ ब्याण्डको टोली सहभागी हुने भएका छन् ।

यसैगरी कार्यक्रममा सगरमाथा गोर्खा नेपाली कम्युनिटी आसफोर्ड र नेपाली कलाकार प्रस्तोता समाज बेलायतसँग सहकार्य गरिने आयोजकले बताएका छन्।

बेलायतमा बसेर नेपाली कला, साहित्य र विविध क्षेत्रमा रचनात्मक एवम् क्रियाशील व्यक्तिहरुको साझा चौतारीको रुपमा स्थापित ‘नेपाली कला साहित्य मञ्च यूके’ ले गत फेब्रुअरीमा अभिनेता, निर्देशक तथा गीतकार निर शाहसँग ‘निर शाहसँग एक साँझ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

पूर्वी नेपालको माँझ किरात भोजपुर जिल्लामा जन्मिएका राई सन् २०१० देखि बेलायतमा बस्दै आएका छन् । उनी बेलायतमा मात्र नभएर विश्वभरका समकालीन गायक तथा संगीतकर्मी साथै प्रशंसकमाझ लोकप्रिय छन् ।

निरन्तर नयाँ सिर्जनाहरु पस्कँदै, नवप्रतिभाहरुलाई प्रशिक्षित गर्दै अनि बेलायतमा बसोबास गर्ने नेपाली कलाकारलाई संगठित पार्ने जस्ता कार्यमा गायक राईको उल्लेखनीय योगदान र सक्रियता रहँदै आएको छ ।

वि.सं २०६४ मा रेडियो नेपालको आधुनिक गीत गायनमा स्वर परिक्षा पास गरेका राईले वि.सं २०५८ सालमा आफ्नै शब्द र संगीतमा ‘माया पायौ कि अरुलाई दियौ’ बोलको पहिलो गीत रेकर्ड गरे ।

‘कहाँबाट सुनाऊँ म’, ‘दिन छैन तिमीलाई नसम्झेको’, ‘यस्तो एउटा संसार खोज्न’, ‘हिजो थियौ तिमी मेरी’ आदि बोलका गीत गायक राईका श्रोताले रुचाएका गीत हुन् । उनका एक सय भन्दा बढि गीत रेकर्ड भैसकेका छन् ।

गैर नाफामूलक यस संस्थाले सिर्जनशील क्षेत्रका सर्जक,  समिक्षक अनि आम प्रशंसकहरुबीच अन्तरक्रियात्मक सम्बन्धबाट नेपाली कला साहित्यमा निखारता ल्याउने प्रयास गरेको छ ।

उत्कृष्ट सर्जक र सिर्जनाहरुलाई प्रवर्धन गर्दै जाने संस्थाको उद्देश्यअनुरुप यसपटक गायक राईलाई छनोट गरिएको जनाइएको छ । 

कार्यक्रमको लाइभ बाद्यबादकहरुमा प्रसिद्ध संगीतकार गणेश गुरुङ (हार्मोनियम- किबोर्ड), महेश गुरुङ (तबला), थिर थापा (हार्मोनियम -किबोर्ड), ईन्द्र गुरुङ (बाँसुरी- सेक्सोफोन), रेसम पाचे (ढोलक-मादल), शुरज गुरुङ (लीड गितार), विकल थापा (रिदम गितार), होइशेर तामाङ (बास गितार) र प्रभास गुरुङ (ड्रम) रहेका छन् ।

कार्यक्रम संयोजक डा. अनिल राईले कलाकारहरु राष्ट्रिय गहना भएको भन्दै ‘गंगाराज राई एकल साँझ’ सफल पारिदिन बेलायतवासी सबै नेपालीलाई आग्रह गरेका छन् ।

प्रेस विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू