पोखरामा पहिलोपटक अन्तरराष्ट्रिय जहाज अवतरण
गण्डकी, ६ असार- पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक आज बिहान अन्तरराष्ट्रिय जहाज अवतरण भएको छ ।
छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गरेको हो ।
सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः०६ बजे अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए ।
उक्त जहाजबाट चीन भ्रमणमा गका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डशिप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आएका हुन् ।
पहिलो अन्तरराष्ट्रिय उडानबाट ओर्लेका यात्रुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरेका थिए ।
उक्त जहाजबाट पोखरा आएका चिनियाँ सरकारी अधिकारी, खेलाडी र पर्यटक सहितको टोलीको स्वागतार्थ सङ्क्षिप्त समारोह आयोजना गरिएको थियो ।
उक्त जहाज आजै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कने जनाइएको छ ।
पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गतेदेखि सञ्चालित उक्त विमानस्थलबाट यसअघि आन्तरिक उडान मात्रै हुँदै आएको थियो ।
व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो ।
विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५