लास जल्दै थियो, धूँवा उड्दै थियो
बाग्मती किनारमा पशुपतिनाथको सन्ध्याकालिन आरतीबाट निस्केको धुँवा र आर्यघाटमा जलिरहेको एक चिताबाट निस्केको धुँवा अलि माथि पुगेपछि एकै ठाउँमा मिसिएर उड्न थाले । मैले त्यहाँ दुःख र आनन्द एकैसाथ पाएँ । कसैको मृत्युमा दुःख लाग्नु त स्वभाविकै थियो, तर आनन्द लाग्नु चाहिं अचम्मको कुरा थियो ।
त्यो साँझ जीवनकै एउटा अविष्मरणीय साँझ रह्यो ।
कुरा २४ मार्च, २०२३ को हो । त्यो दिन पशुपतिनाथको बेलुकीको आरती हेर्ने मेरो इच्छा पुरा हुँदै थियो । लामो समयदेखि त्यो आरती हेर्ने मेरो इच्छा पुरा गराउँदै थिए – साथी ज्योति र भाई भरतले । साथमा छोरी निहारिका र छोरा गिरीश पनि थिए । दुई हप्ताको नेपाल बसाई सकेर हामी भोलिपल्ट बेलायत फर्किर्दै थियौं । त्यो अघिल्लो दिनको साँझको कुरा थियो ।
नेपाल आउँदा सपरिवार सँगै आएको भए पनि फर्किने बेला भने श्रीमान गोपीजी एक हप्तापछि फर्कंदै हुनुहुन्थ्यो । एक हप्तापछि उहाँको नयाँ किताब ‘चिसो बाफ’को विमोचन हुँदै थियो । बिदा लम्ब्याउन नमिल्ने भएकाले हामी चाहिं चाँडै नै फर्कंदै थियौ ।
भोलिपल्ट बिहानैको फ्लाइट भएकाले मन अलिअलि आत्तिएको थियो । घर परिवार, साथीभाई, आफन्त र जन्मभूमीलाई छोड्नु पर्दाको पीर एकातिर थियो भने हामी मात्रै फर्किदा महशुस हुने जिम्मेवारीको कुरा अर्कोतिर थियो ।
तर ती सबै कुरालाई बिर्सेंर पशुपतिनाथको आरतीमा पुग्न हामी सुन्धाराको होटेल मेजेस्टीबाट समयमा नै निस्कियौं । साथी ज्योति र भाई भरतसँगका गफ सकिएका थिएनन् । त्यसैले बस, ट्याक्सी चढेर भीडभाडमा पर्नु भन्दा र जाममा फस्नु भन्दा गफ गर्दै हिंड्ने निधो गरयौं ।
सुन्धाराबाट हामी पाँच जना शहिद गेट, प्रदर्शनी मार्ग हुँदै पुतलीसडक निस्कियौं । क्याम्पस पढ्दाका पुराना दिनहरु फेरि एकपटक ताजा भए । आर.आर. क्याम्पस नेर पुगेपछि गोपीजी र मैले पढेको क्याम्पस यही हो भनेर देखाइदिएँ । त्यसपछि हामी पुतलीसडकबाट भित्री बाटो हिंड्दै मैतीदेवी पुग्यौं । अनि पुरानो बानेश्वर हुँदै गौशाला पुग्यौं ।
पशुपति क्षेत्रमा निकै परिवर्तन भएको रहेछ । पहिले भन्दा धेरै फराकिलो, सफा र सुन्दर बनाइएको रहेछ । त्यहाँ पुगे पछि निकै आनन्दको अनुभूति भयो । गिरीशलाई पनि मलाईजस्तै भएको रहेछ । उसले भन्यो, ‘मामु, यो पशुपति क्षेत्रमा चाहिं मनमा आनन्द दिने खालको केही चिज छरेको छ कि क्या हो ? यहाँ छिरेपछि त कस्तो आनन्द आयो मलाई ।’
उसको उत्सुकताको उत्तर दिंदै भनें, ‘तिमीलाई बाहिरी कुराले मात्र होइन छोरो भित्री कुराले पनि आनन्द दिएको हो । हामी जति आस्तिक भयौं, त्यति नै भगवानको ठाउँमा जाँदा आनन्दको अनुभूति हुन्छ, मन हल्का हुन्छ ।’
साँझ ७ बजे आरती हुने ठाउँमा पुग्यौं । त्यहाँ शिवजीको सान्ध्याकालिन आरती हुँदै थियो । हजारौ भक्तजन आरती गर्न र हेर्न उपस्थित थिए । मीठो मीठो बास्नादार धूप र आर्यघाट नै उज्यालो हुने गरी बलेका दीपहरुले भक्तजनहरुको मन मस्तिस्कमा अलौकिक आनन्दको झंकार दिइरहेको थियो ।
त्यही बेला मेरा आँखा अर्को एउटा दृष्यमा ठोक्किन पुगे । त्यो दृष्य थियो, आर्यघाटमा जलिरहेको एक अपरिचित लासको । लास जलिरहेको थियो ।
लासको गन्ध र आरतीको बासना मिसिएर एउटा छुट्टै गन्ध आइरहेको थियो । लासको जलाई र आरतीको बलाई एउटै गतिमा थिए । दुवै जलेर निस्केको धुँवा माथि माथि उडेर छरिएको थियो ।
केही माथि पुगेपछि दुवै धूँवा एकै ठाउँमा मिसिए, जुन दृष्यले म आनन्दित भएँ । मरिसकेपछि जलेर खरानी भई अस्तित्व मेटिनु त सामान्य कुरा नै थियो, तर मरिसकेपछि जलाउँदा लासबाट निस्किएको धुँवा आरतीको धुँवामा मिसिनु एउटा संयोग र भाग्यको कुरा थियो, जुन चाहेर पनि सबैलाई मिल्दैन भन्छन् योगीहरु ।
मेरो मन अझै अघि बढ्छ र म सोच्न थाल्छु त्यो अपरिचित लासको बारेमा । को थियो होला ऊ ? के काम गरेको थियो होला उसले ? यो दृष्यले मेरो कौतुहलताको गति पनि बढाइरहेको थियो । मेरो मन दुई भागमा बाँडिएको थियो । आधा मन शिवजीको आरतीमा मग्न थियो भने अर्को आधा मन त्यो मृतकको अन्त्येष्टीको बारेमा, अनि त्यो संयोगको बारेमा । मृतकले सायद केही अनुभव गरेन तर मेरो हृदयले उसलाई स्वर्गीय आनन्द प्राप्त भयो होला भन्ने कल्पना गरिरहेको थियो ।
मरिसकेपछि पनि आत्माले सबै कुरा देख्छ भन्ने विषयमा एउटा चलचित्र हेरेकी थिएँ । त्यहाँ डाक्टरले मृत घोषणा गरेको ४५ मिनेटपछि बौरेको मान्छेको अनुभव देखाइएको थियो । त्यो भोगेर आउने मान्छेको कहानी सम्झें र सोचें, पक्कै पनि त्यो मृतकको आत्माले पनि ती सबै घटनाहरु कतैबाट देखिरहेको थियो होला ।
म त निकै गहिरो सोचाईमा पो डुबेछु । एक्कासी झस्कें । यसो हेर्दा त आरती र लास दुवै जलिसकेछन् । तर मेरो सोचाइले भने अझै गहिराइ लिंदै थियो ।
हुन त संसारमा मृत्यु भन्दा भयावह अरु के हुन सक्छ र ! फेरि त्यही मनले भन्छ, जन्मेपछि मृत्यु अवश्यम्भावी छ । मर्नै परेपछि यसरी मर्न पाए पो राम्रो त । उता शास्त्रले भन्छ, ‘जन्म र मरण हाम्रो हातमा छैन । आफूले सोचेजस्तो मरण मर्न पाइदैन ।’ सोचें, के त्यो अपरिचित आत्माले चाहिं परमागती पायो होला ?
त्यहाँ उपस्थित हजारौ मान्छेको भीडमध्ये कति जनाले मैले जस्तो अनुभव गरे कुन्नी । जीवनमा धेरै कुरा देखियो, भोगियो तर त्यस्तो अनुभव कहिल्यै भएको थिएन ।
आँफैलाई प्रश्न गरे, वास्तवमा मानिस मरिसकेपछि के हुन्छ होला ? लास जलेर धुवाँमा परिवर्तन भयो आरतीको बत्तीजस्तै । आखिर त्यो धुवाँ पनि हेर्दा हेर्दै माथि पुग्यो, धेरै माथि । विस्तारै अदृष्य भयो ।
अन्तमा मनमनै निष्कर्ष निकालें, भगवानको आरतीबाट निस्कने धुवाँ र मान्छेको शरिरको अन्तिम अस्तित्व अर्थात् लासबाट निस्कने धुवाँ बिलिन हुने ठाउँ एउटै त रहेछ । त्यही शून्य रहेछ, महाशून्य रहेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५