बेलायतको अल्डरसटमा प्रेम गाहामगरले गरे ‘शक्ति प्रदर्शन’
लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार अल्डरसटमा आयोजित विशेष महाधिवेशनमा शक्ति प्रदर्शन गरेका छन् ।
एम्पायर हलमा गरिएको विशेष महाधिवेशनमा अध्यक्ष गाहामगरले नेपालबाट विशिष्ट अतिथीहरुमात्र बोलाएनन्, बेलायतभरबाट नेपाली समुदायका नेता आमन्त्रण गरेर एकपटक फेरि जनविश्वास आफूसंग रहेको प्रमाणित गरे ।
महाधिवेशनमा १६४ नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, नेपालीमूलका १० जना काउन्सिलर, वुद्धिजिवी, राजनीतिज्ञ आदि गरि ६ सय भन्दा बढीको सहभागिता थियो । सर्भिसमा रहेका लेफ्टिनेन्ट कर्णेल टोल खाम्चासहित १५ भन्दा बढी गोर्खा अफिसर, ५ वटा भूतपूर्व गोर्खा संगठनका प्रमुख, १४ भन्दा बढी गोर्खा इन्टेक लिडर, ७० बढी अवकास प्राप्त गोर्खा अफिसरहरु र नेप्लिज युथ यूकेका संस्थापक अध्यक्ष रिचार्ड गुरुङ, निवर्तमान अध्यक्ष कुमार थापासहित ६० युवा दस्ता सहभागी थियो ।
एनआरएनए पूर्व अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यमा विशेष महाधिवेशन भएको हो । कार्यक्रमका लागि अमेरिकाबाट पूर्व उपाध्यक्ष सोनाम लामा र नेपालबाट राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी समेत आइपुगेका थिए ।
एनआरएनए यूके कार्यालयबाट महाधिवेशन स्थलसम्म पञ्चेबाजा र पाइपर धुनसहित आमन्त्रित अतिथीहरुलाई रयालीमा लैजांदा स्थानीयले पनि बडो चाखलाग्दो गरि अवलोकन गरे ।
महाधिवेशन उद्घाटन डा. घले, डा. केसी, गाहामगर, जिसी र शान्ति थापा कुंवरले संयुक्त रुपमा गरेका थिए ।
उक्त महाधिवेशनमा वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धि महत्वपूर्ण सत्र झण्डै तीन घण्टा चलेको थियो जसमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी प्रमुख आकर्षण बने । उक्त सत्रमा डा. केसी, सोनाम लामा, काउन्सिलर नेम थापा, योगेन क्षेत्री, खगेन्द्र थापा, मेजर रि. समुन्द्र गुरुङ र अध्यक्ष गाहामगर प्यानलिष्टमा थिए ।
नेपालका टिभी जर्नालिष्टहरु मनोज जोशी, रामप्रसाद भण्डारी र राजेन्द्र भट्टको प्रश्नमा प्यानलिष्टहरुले वंशजको नेपाली नागरिकता किन कायम हुन आवश्यक छ र यस अभियानलाई कसरी सशक्त रुपमा अगाडि बढाउने भन्नेबारे आ-आफ्नो धारणा राखेका थिए ।
सचिव प्रमिला लाबुङले सञ्चालन गरेको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा. शेष घलेले गैर आवासीय नेपाली संघले विश्वभरका नेपालीको भावना समेट्न नसकेकोमा गुनासो गरे । ‘मैले दोश्रो तेश्रो पुस्तालाई समेत समेट्ने गरि ‘भिजन २०२० एण्ड वियोण्ड’ परिकल्पना गरें तर त्यसले मूर्तरुप लिन पाएन’, डा. घलेले भने, ‘आफ्नो मातृभूमि र नेपालीका लागि वृहत सोचौं ।’
डा. घलेले नेपालमा ग्रीन हाइड्रोजनको सम्भाव्यतामाथि प्रष्ट पार्दै यसको विकल्प सोच्नुपर्ने बेला आएको उल्लेख गरे । उनले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यसबारे अवगत समेत गराएको स्मरण गरेका थिए ।
डा. घलेले एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर एक्सन ओरियण्टेड र भिजन भएको व्यक्ति भन्दै प्रशंसा समेत गरे ।
शुभकामना मन्तव्यका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसम्पर्क विज्ञ बुद्धि जिसीले नेपालमा आपतविपत पर्दा सरकारले एनआरएनएलाई सम्झने बताए । जिसीले नेपालको पूंजी बजारमा गैर आवासीय नेपालीलाई खुल्ला गर्ने नीति सरकारले छिट्टै ल्याउन लागेको पनि जानकारी दिए । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित गरिदिएको भए नागरिकका धेरै समस्या समाधान हुने जनाउंदै जिसीले विधेयक पारित हुनेमा ढुक्क हुन आग्रह गरे ।
जनसम्पर्क विज्ञ जिसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री दाहालले खुट्टा नकमाउने दावी गरे । ‘कमरेड प्रचण्डका खुट्टा धातुले बनेका छन्, यस प्रकरणमा उहांले खुट्टा कमाउनुहुन्न’, उनले भने, ‘जतिसुकै शक्तिशाली भएपनि दोषीलाई कानूनी कठघरामा ल्याउन वर्तमान सरकार कटिवद्ध छ ।’
अध्यक्ष गाहामगरले २१ महिनाको कार्यकालमा आफूले गरेका ४६ वटा प्रमुख कामको प्रगति प्रतिवेदन भिडियोमार्फत प्रस्तुत गरेका थिए । उनको प्रतिवेदन युट्यूव लिंकमा छ । गाहामगरले विधानका जटिलता फुकाउन महाधिवेशन गर्नुपरेको स्पष्ट पार्दै यसलाई सफल बनाउन सहयोग गर्ने सबै र सहभागीप्रति कृतज्ञता व्यक्त गरे ।
महाधिवेशनमा प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल (ओबीइ), एनआरएन यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व महासचिव आरके त्रिपाठी, तमु समाज यूके संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, काउन्सिलरहरु लक्ष्य गुरुङ, विष्णु गुरुङ र जीत रानाभाट, गेसो कार्यवहाक सभापति धर्म तामाङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत रोका, तमुधिं यूके सल्लाहकार डेभिड गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा लगायतले शुभकामना दिंदै एनआरएनए यूके दुईवटा नभएको र जननिर्वाचित अध्यक्ष प्रेम गाहामगर भएकाले यसमा स्पष्ट हुन सबैलाई अनुरोध गरेका थिए ।
एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्रीले मातृभूमिसंग जोडिराख्न वंशजको नेपाली नागरिकता कायम हुनुपर्ने विषयसंग सम्बन्धित एक वृत्तचित्र प्रस्तुत गर्दै गाहामगरको संघप्रति लगाव र विकृति विरुद्धको अडानले महाधिवेशनमा मानवसागर उर्लिएको बताए । उनले एनआरएनए यूकेमा केही विवाद नभएको बताउंदै गाहामगरलाई पूर्ण समर्थन गर्न पनि आग्रह गरे ।
उद्घाटन सत्रमा एनआरएनए यूके उपाध्यक्ष विमला लिम्बुले स्वागत मन्तव्य दिएकी थिइन् ।
टोकन अफ लभ प्रदान
सो अवसरमा बेलायतको नेपाली समुदायमा विशिष्ट योगदान दिने व्यक्तित्व र प्रायोजकहरुलाई प्रमुख अतिथी डा. घले र एनआरएनए यूके अध्यक्ष गाहामगरले प्रमाणपत्र तथा टोकन अफ लभ प्रदान गरि सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा डब्लुओटु दीपप्रसाद पुन सिजीसी, डा. ओमप्रसाद गौतम, अस्मिता आलेमगर, शान्ति थापा कुंवर र एनआरएनए पूर्व उपाध्यक्ष सोनाम लामा छन् ।
त्यसैगरि, बेलायतस्थित मेयर र काउन्सिलरहरु निना गुरुङ, जगन्नाथ शर्मा, नेम थापा, जीव बेल्वासे, धनबहादुर सार्की, लक्ष्य गुरुङ, विष्णु गुरुङ, जीत रानाभाट, प्रीति लिम्बु, कमल गुरुङ, नवीन सिवा, राम लिम्बु र दिनेश खड्कालाई पनि ‘टोकन अफ लभ’ प्रदान गरियो ।
प्रायोजकहरु योगेन क्षेत्री, गोर्खा मोर्गेजका सरोज गुरुङ, एम्पायर हलका नारायण गिरी र एनआरएनए केन्द्रिय उपाध्यक्ष थर्क सेन छन् ।
नेपालबाट आएका अतिथीहरु डा. सुरेन्द्र केसी, बुद्धि जिसी, गुल्मीको धुर्कोट गाउंपालिका अध्यक्ष भुपाल पोख्रेल, चन्द्रकोट गाउंपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउंपालिका अध्यक्ष देवीराम अर्याल, युवा व्यवसायी अमित रोका, नगेन्द्र सिंह, होविन्द्र कार्की, जीवन गौतम, पत्रकारहरु मनोज जोशी, रामप्रसाद भण्डारी र राजेन्द्र भट्ट पनि सम्मानित भए ।
त्यसैगरि, समाजसेवी रविन्द्रजंग लामिछाने, चित्रबहादुर गुरुङ, मेजर खिम गौचन, इशा गुरुङ, माया गुरुङ, पार्वती गुरुङ, विनोद चिपालु, विनोद बुढाथोकी, रिचार्ड गुरुङ, नरमति पुन, डा. विशाल गुरुङ, डा. डिना तामाङ र राष्ट्र राई छन् ।
अब सदस्यता निशुल्क
महाधिवेशन बन्द सत्रले संघको विधान संशोधन र आर्थिक प्रतिवेदन पारित गर्दै सदस्यता सम्बन्धि महत्वपूर्ण निर्णय गरेको छ । अब एनआरएनए यूकेको सदस्यता निशुल्क गर्ने निर्णय भएको अध्यक्ष गाहामगरले जनाए ।
विश्वासदीप तिगेलाको संयोजकत्वमा रुद्र थापा सदस्य सचिव तथा टेकबहादुर थापा सदस्य रहेको एक विधान संशोधन समिति गठन गरिएको थियो ।
उक्त सत्रमा एनआरएनए यूकेभित्र आर्थिक हिनामिना तथा संघको विधान विपरित काम गर्नेहरुमाथि छानविन गर्न गठित समितिको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
बन्द सत्र उपाध्यक्ष भरतमणी चोङबाङले सञ्चालन गरेका थिए ।
तस्विरहरु- शिव भण्डारी, आशिष महर्जन, सुष्मा घिमिरे ‘सुजी’
अध्यक्षको प्रगति प्रतिवेदन भिडियोमा-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५