नेपाली भिलेज यूके परियोजनामा जोडिंदै नेपाली, पहिलो वार्षिकोत्सव यही शनिबार
लन्डन । बेलायतमा नेपाली गाउं बनाउने महत्वकांक्षी नेपाली भिलेज यूके परियोजनाले पहिलो वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।
वार्षिकोत्सवको अघिल्लो दिन नेपाली भिलेज यूकेका सम्पूर्ण शेयरधनीसहित पहिलो वार्षिक साधारणसभा पनि हुंदैछ ।
नेपाली भिलेज यूकेले यही २० मे २०२३ शनिबार लाङग्रीन्डर कम्युनिटी हल ब्रेकनमा वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामा प्रत्यक्ष उपस्थित हुन नसक्नेले जुममार्फत पनि सहभागिता जनाउन सक्ने जनाइएको छ ।
साधारण सभाको भोलिपल्ट आइतबार बिहान ११.०० बजेबाट सुरु हुन गइरहेको प्रथम वार्षिकोत्सव नेपाली भिलेज यूकेले आफ्नै परियोजनास्थल ब्रेकनमा गर्ने भएको छ ।
स्थानीय सांसद एवं ब्रेकन टाउन मेयरको प्रमुख आतिथ्यलगायत स्थानीयहरु तथा नेपाली समुदायका व्यक्तिलाई आमन्त्रण गरिएको उक्त कार्यक्रममा शेयरधनीहरुको उल्लेख्य उपस्थित रहने अपेक्षा छ । नेपाली भिलेज यूकेले परियोजनाबारे जान्न बुझ्न उत्सुक बेलायतस्थित सबै नेपालीलाई निमन्त्रणा समेत गरेको छ ।
वार्षिकोत्सव कार्यक्रम अत्यन्त चुस्त दुरुस्त हुनेछ भने नेपाली नृत्य लगायत मनोरन्जन सेग्मेन्ट पनि राखिको छ । कार्यक्रममा उपस्थित हुनेलाई समूहगत रुपमा परियोजनाको पुरै जग्गा अवलोकन गराउने एवं आफ्नै जग्गामा दिवा भोज पकाएर पाहुनाहरुलाई खुवाउने तयारी गरिएको नेपाली भिलेज यूकेका प्रमुख मेजर खुशीमान गुरुङ (एमभीओ) ले बताए ।
वार्षिकोत्सव कार्यक्रममा उपस्थित भएर यसबारे जानकारी लिने वा शेयर किन्ने मनसाय भए email: [email protected] र Mobile: 07506 481155 मा सम्पर्क गर्न सकिनेछ ।
नेपाली भिलेज यूकेले परियोजनालाई आवश्यक लगभग २४ एकड जग्गा खरिद प्रक्रिया सम्पन्न गरेर योजना अनुसार पहिलो चरण अन्तर्गत पारिवारिक छुट्टी मनाउने घर, क्याम्पसाइट, वृक्षारोपण, नेपाली चौतारा, ढुङ्गेधारो अनि अन्य आवश्यक कार्यहरुका निमित्त स्थानीय काउन्सिलसमक्ष ‘प्लानिङ परमिसन’ को निवेदन दिएको छ ।
यो जग्गा ब्रेकन विकन न्याशनल पार्क क्षेत्रमा पर्ने हुनाले पनि परियोजनाले अनुरोध गरेको प्लानिङ निवेदनमा अतिरिक्त अध्ययन गर्नुपर्ने जनाइएको छ । यसका लागि स्थानीय सांसद, मेयर लगायत काउन्सिल लिडरहरुसंग आवश्यक सहयोग र सहकार्य भइरहेको परियोजनाले जनाएको छ ।
‘हाम्रो यात्रा निरन्तर छ, यात्राको गति अझै बढेको छ, यात्रामा आवश्यक सहयात्रीहरु, सहयोगीहरु थपिने क्रम जारी छ’- परियोजनका प्रवक्ता एवं एकजना संस्थापक शेयरहोल्डर विक्रम भट्टराई भन्छन्, ‘नेपाली भिलेज यूके परियोजना योजना अनुसार नै आफ्नो उद्देश्य प्राप्तिको गन्तव्यतिर लम्किरहेको छ । चरणवद्ध सम्पन्न गर्ने तय गरिएका कामहरु समय अगावै हुने क्रममा छन् ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५