पर्वत शैक्षिक यात्रा र श्रद्धा सुमन समाजसेवी रुक्बिना लामिछानेज्यूलाई
‘तपाईंको मुख मात्रै रहेछ’ रविजीले कटाक्ष दिनु भयो।
‘भन्नुस न ! गर्नु पर्ने चाहिं के हो र?’ – मैले प्रश्न गरेँ।
संवाद यसरी सुरु भयो।
अन्ततः रविजीले आफूले अध्ययन गर्नुभएको विद्यालय श्री नव जागृत माध्यमिक विद्यालयका लागि तयार ‘निलो ब्याग तथा शैक्षिक सामग्रीहरु’ वितरण गर्न तयारी अवस्थामा रहेको तर आफू लन्डन तुरुन्त फर्किनुपर्ने कारण मैले वहाँको परोपकारी संस्था ‘द लामिछाने फाउन्डेसन’ मार्फत वितरण गरिदिनु भन्ने आग्रहमा मैले ‘खै ! भ्याउँदिन कि!’ भन्ने मेरो जवाफमा वहाँको कटाक्ष थियो – ‘तपाईंको मुखमात्रै रहेछ ।’
संवाद जसरी सुरुवात भए पनि यसको टुंगो अत्यन्तै अवस्मरणीय रह्यो।
१७ बैशाख, पर्वत मोदी गाउँपालिका ६ तिलाहारमा रहेको नवजागृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पान गरियो। लन्डनका सफल युवा व्यवसायी एवं समाजसेवी मित्र रबिन्द्रजंग लामिछाने ‘रवि’ द्धारा स्थापित द लामिछाने फाउण्डेशनबाट उक्त विद्यालयको कक्षा १ देखि ६ कक्षासम्म पढ्ने १ सय २० जना विद्यार्थीलाई विद्यालय निलो ब्याग, कापी तथा सिसाकलम वितरण गरिएको थियो ।
आफ्ना वुवा चन्द्रजंग लामिछाने र आमा रुक्बिना लामिछानेको स्मृतिमा स्थापित रविचन्द्र ट्रष्ट तथा द लामिछाने फाउण्डेसनको संयोजनमा आफ्नो जन्मथलोमा शैक्षिक विकासका लागि योगदान गर्नुपर्छ भन्ने मान्यताका अनुरुप शैक्षिक सामाग्री सहयोग गर्ने वहाँको परोपकारी यात्रामा संयोजकको हैसियतले पर्वत यात्रा मेरा लागि अत्यन्तै अविष्मरणीय रह्यो।
फलतः पर्वत यात्राको यात्रा संस्मरण नलेखी रहन सकिन।
प्रसंगलाई अलिकति पछाडि फर्केर हेर्दा–गत सेप्टेम्बर महिना हामी आमाछोरी ‘मेची टु महाकाली’ शैक्षिक यात्राको क्रममा बाग्लुङ्ग जाने क्रममा थियौं । त्यति बेला नै रविजीले आफूले अध्ययन गरेको विद्यालय सोही बाटोमा नै पर्छ यसो जाँदा, जाँदै पस्नु होला नि भन्ने सुझाव दिनुभएको थियो। त्यसो त, सेप्टेम्बरमा नै हामी रविजीले पढ्नु भएको विद्यालय श्री नव जागृत विद्यालय पुगिसकेको र प्रधानाध्यापक विष्णुप्रसाद सुवेदी सरसंग रामरी चिनजान भइसकेको कारणले पनि यस सालको नयाँ वर्षको शैक्षिक सामग्री वितरण कार्यक्रममा उपस्थित भइदिनुस् भन्ने रविजीको आग्रहलाई मैले नाईं भन्ने अवस्था नभए पनि समयको पावन्दी अवश्य थियो।
तथापि, रविजीको कटाक्ष भन्दा पनि शिक्षा जस्तो पूण्य कार्यको सुअवसरलाई मैले गुमाउन चाहिन।
जीवनको आरोह-अवरोहमा धेरै अनुहार भेटिए। भेटिनु र छुट्टिने क्रम जीवन रहुन्जेल निरन्तर चलि नै रहन्छ – आफन्त होस् या साथी–संगति । यहाँ आफ्नै सास आफ्नो आफ्नो हुँदैन–कतिबेला समय आउँछ पत्तै हुँदैन। शिक्षा र समुदायका लागि गरिने कार्यहरु मेरा लागि झन् आत्मीय नहुने कुरै भएन। घरमा स्वीकृति लिनु छँदै थियो।
त्यसो त मेरो कार्य क्षेत्रदेखि परिचित मेरो सासु र घर परिवारले मलाई जाने अनुमति दिएपछि रविजीलाई लागि सूचित गरेँ। शिक्षा क्षेत्रमा नै कार्यरत मेरो मामाको छोरी हिरा बहिनी पनि म संगै जाने भइन्।
बिहिबार साँझ संक्षिप्त सल्लाहपछि उता पर्वतमा विष्णु सरसंग कुराकानी भए।
शुक्रबार– सबै शैक्षिक सामग्रीहरु पर्वत पठाउने तयारी भएको कुरा रविजीले अपडेट दिनु भयो। अनि शनिबार बिहान काठमाडौँदेखि हिंडेर सोहि साँझ पर्वत पुगेर भोलिपल्ट आइतबार विद्यालयका लागि द लामिछाने फाउन्डेसनका तर्फदेखि संयोजकको भूमिकामा निलो ब्याग एवं शैक्षिक सामग्री वितरण कार्यकममा सरिक हुने निधो गरियो।
र, केहि दिन अघि म लाम्पटा, पर्वतमा थिएँ।
प्रसंग तर यतिखेर मोडिएर विद्यालयको शैक्षिक सामाग्री वितरण जस्तो परोपकारी कार्यको आनन्दभूति भन्दापनि लामिछाने परिवार विशेषतः रवि लामिछानेजीको त्यो विश्वास र आत्मियताले नतमस्तक त बनाएको हो नै अझ वहाँको दाजु महेन्द्रजंग अनि दिदी इन्दु खड्का लामिछाने अनि दिपेन्द्र भाई सबैसंग आत्मीय हुने अवसर जुर्यो।
सविस्तार कुनैदिन लेखौंला, पर्वत शैक्षिक भ्रमणबारे – यात्राका अनगिन्ती अनुभवहरु। बाटोमा जीप रोकेर एँसेलु खाएको देखि छोटो सूचनामा पनि विद्यालयका प्राध्यापक विष्णु सुबेदी सर र विद्यालय कमिटीको उदाहरणीय कार्यको जति प्रसंसा गरे पनि कम हुन्छ।
त्यो ऐतिहासिक एवं अविष्मरणीय क्षणको यात्रा संस्मरण लेख्दै गर्दा थाहा लाग्यो, आमाको आज दोश्रो वार्षिक पुण्य तिथि रहेछ। र, यो भन्दा अर्को महत्वपूर्ण संयोग र गर्विलो क्षण मेरा लागि के होला र ?
त्यो गाउँ, घरसंगै आमाको सम्झना रविजीले प्रायजसो गरिरहनु हुन्थ्यो। रविजीले आमाबारे निरन्तर सुनाइरहनु भएपनि – स्वयं गाउँमा गएर आमाको पुन्य, दान–धर्मको कामहरुको प्रत्यक्ष अनुभवहरु लिने मौका पाएँ। दिपेन्द्र, राम र उनको छोराले गाउँको सेरोफेरो घुमाउँदै गर्दा आमाले रोप्नु भएको वर पिपल अनि चौतारीमा सुस्ताइरहेको बटुवाहरुसंगै केहि बेर सुस्तायौं।
नेपाल बारम्बार गए पनि वर्षौं भएको थियो यसरी बर पिपलको चौतारीमा सुस्ताएको। अनि डाँडाको डिलमा उभिएर पर, पर गाउँहरु औंलाएर आनन्द लिएको।
त्यो भन्दा पर्तिर रातो कमेरो माटोले पोतेको घरको बयान गीतहरुमा सुन्दै आएपनि त्यो घरको माटो सुबासको आनन्द लिएको। महेन्द्र दाइ भन्दै हुनुहुन्थ्यो, ‘यो घर करिब सय साल भन्दा त पुरानो हो।’
ढुंगाले छाएको छानो उस्तै अझै पनि, कलात्मक ! मैले महेन्द्र दाइको अनुमतिमा घरको माथिल्लो तलामा जाने अनुमति मांगे। माथि भरयाङ् उक्लंदै गर्दा बुवा चन्द्रजंग लामिछानेज्यूको फोटो भित्तामा देखें। त्यो माथिल्लो तलामा कोहि जादैनन् बन्द छ। एउटी कहाँ, कहाँको राइनी कहाँ देखि आइपुग्यो होला भनेर बुवाले हेर्नु भयो होला मलाई भन्दै माथि उक्लिएर झ्यालदेखि टाउको निकालेर केहि थान फोटो लिन भ्याएँ।
यदि तपाइँ ब्रह्माण्डमा विश्वास गर्नुहुन्छ भने कहिलेकाहीं संयोग, मात्र संयोग मात्र हुँदैन क्यारे ! रविजीसंगको मेरो पहिलो भेट दुई वर्षअघि आफ्ना स्वर्गीय आमाको दुःख बारेर बसिरहनु भएको बेला नै नवीन पोखरेल भाईको सम्पर्कद्वारा भएको थियो।
परोपकारी कार्यका लागि वहाँसंग नजिक हुन पुगेको हाम्रो परिचय सौहाद्रपूर्ण ढंगले आत्मीय हुन पुगे। जहाँ उद्देश्यहरु समाजको हितका लागि गरिने कार्यहरुका लागि पारदर्शी हुन्छन् निःस्वार्थ एवं निःसर्त सम्बन्धहरु पनि स्वतः गर्विलो र टिकाउ बन्दो रहेछ।
हुन त हामी ग्लोवल भिलेजमा बस्छौं तर हिजोआज आत्मियता हराउँदै गएको आफन्त र मानवीयता हराउँदै गएको समाज र संसारमा सम्बन्धहरुको दायरा संकुचित सोचहरुमा खुम्चिंदै गएको छ। नपत्याउँदो ! रविजीको पुर्खौली घरमा एक रात बिताउने सौभाग्य प्राप्त गरें।
पर्वत शैक्षिक यात्राको छोटो यात्रा तर यादगार रहे। महेन्द्र दाइले भन्नु भएको अझै पनि सम्झिन्छु–‘बैनी, हाम्रो गाउँ आएपछि, हाम्रो घर नबसेर कहाँ अन्त बस्ने हुनै सक्दैन ।’
त्यो अपनत्व सुनेर उबेला नै म भावुक बनेकी थिएँ। रविजीले पनि बारम्बार भन्नुहुन्थ्यो, ‘जमिनसंग जोडिनु पर्छ मानिसले, जहीं गए पनि र जीवनमा जति नै सफलता हासिल गरेपनि हाम्रो जमिन, जरा र जननी बिर्सनु हुँदैन।’
यहि मेसोमा दिदी इन्दुसंग पनि छोटो भेट भयो। मेरी बहिनी भन्दै थिइन्, ‘हृदयमा हरिले बास गरेको मान्छे रहेछन् रवि दाजु ।’ उ दंग थिई आफैंमा।
भनिन्छ– ‘देवदूतहरु असल मित्रका रुपमा आउँछन् यो धर्तीमा ।’ प्रचलित भनाईलाई उधृत गरेकी हुँ। कर्मले मान्छेको पहिचान गराउँछ । भिडहरु भन्दा अलग । फराकिला हृदय भएका असल परोपकारी मित्र मात्रै हैन, पर्वत तिलाहारमा धेरै अन्य न्यानो मन भएका सहृदयीहरु पाएर म दंग छु। यो संस्कार दिनु हुने आमा–बुवा दुवै इश्वरका प्यारा भइसक्नु भएको छ।
स्वर्गीय आमालाई–
घर त्यहि हो,
आँगन त्यहि छ
छैन केवल
पद चापका आवाजहरु तपाईंका
तर स्मृतिका पैताला डोबहरु त्यहीं छ।
रहने त सत्कर्म नै हो, आमा, आमा नै हो, आमा रुक्बिना लामिछानेज्यूको आज पर्न गएको दोश्रो वार्षिकीमा हार्दिक श्रद्धा–सुमन ! –लारा, लन्डन
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५