शनिबार, पुष २७, २०८१
03:59 | ०९:४४

शरणार्थी प्रकरणको ‘नेक्सस’ कारबाही दायरामा आउने उपप्रधान तथा गृहमन्त्रीको अठोट

रासस मे ११, २०२३

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर- हरिराम भेटुवाल/रासस

काठमाडौं, २८ वैशाख–उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् ।

आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी) का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्”, उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गरे । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उनको भनाइ छ । “यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो”, उनले भने ।

सो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उनले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुरयाइने दृढता व्यक्त गरे । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उनको भनाइ छ ।

“मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन । दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ,”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस् निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।”

उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,”, उनले भने ।

भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिएका थिए । यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उनीहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिए ।

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग

विभिन्न विद्यार्थी सङ्गठनले नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबै जनालाई कारबाही नभए कडा आन्दोलन गर्ने जनाएका छन् ।

प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै दोषी देखिएका जो–कोहीलाई पनि कारबाही गर्नुपर्ने धारणा राखे ।

अध्यक्ष बडालले भने, “वर्तमान सरकारले गरेको राम्रा कामका लागि ‘स्यालुट’ र साथ हुन्छ, तर आग्रह वा पूर्वाग्रह राखेर निर्दोष फस्ने दोषी उम्कने हुनु हुँदैन ।”

आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध सुरु गरेको ऐतिहासिक कदमप्रति सबैले साथ दिनुपर्नेमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहको जोड थियो ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले वर्तमान सरकारले हिम्मतिलो कदम चालेको भन्दै कोही कसैको व्यक्तिगत ‘इन्ट्रेस्ट’ र दबाबमा नपरी अगाडि बढ्नुपर्ने धारणा राखे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले नक्कली भूटानी प्रकरणमा कुनै पनि हालतमा सरकारले खुट्टा कमाउन नहुने बरु कसैले दबाब दिन्छ भने जनताले सडकबाट साथ दिने बताए ।

अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले जनपक्षीय काममा आफू र आफ्नो सङ्गठन सरकारको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू