सांसद वाग्ले एक्सनमा, सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद डा स्वर्णिम वाग्लेले सडक दुर्घटना न्यूनीकरण गर्न तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
तनहुँ-१ बाट निर्वाचित सांसद वाग्लेले बुधबार बिहान तनहुँ बन्दीपुर गा.पा. वडा न. ५ स्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिङ्ग जाँदै गरेको ना. ४ ख. १९७३ न. को ट्रकको ठक्करबाट तीनजना (आयुस भुजेल, चेत बहादुर घर्ती र सनबहादुर भुजेल) को मृत्यु र पाँचजना (आयुसा भुजेल, जस्मीन भुजेल, इश्वर भुजेल, समीर भुजेल, सन्तोष भुजेल) घाइते भएको खबरले असाध्यै दु:खी भएको बताए। आफ्नो फेसबुक पृष्ठमा एक संदेश लेख्दै उनले घटनामा आफन्त गुमाएका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
नेपालमा सडक दुर्घटनाबाट मृत्यु दर दक्षिण एसियाली दाँजोमै उच्च हुँदै गएको उनले बताए। गत वर्ष २४,५२६ वटा सडक दुर्घटनामा २,८८३ जनाको मृत्यु, ७२८२ जना गम्भीर घाइते र २५,७२२ जना सामान्य घाइते भएका थिए।
‘तनहुँको नवनिर्वाचित सांसदको हैसियतमा जति दुःखी छु, त्यति नै चिन्तित देशको सडकको दुरावस्था र बढ्दो सडक दुर्घटनाहरुबाट छु। नागरिकको जीवनको रक्षा सरकारको पहिलो दायित्व र कर्तव्य हो,’ वाग्लेले भने।
उनले सडक सुरक्षाको सन्दर्भमा यसअघि भएका अध्ययन प्रतिवेदनहरुको कार्यान्वयन गर्न आग्रह पनि गरे। उनले सडक दुर्घटनामा परी मृत्यु भएका परिवारलाई प्रदान गरिने बीमा रकम प्राप्तिको प्रक्रिया सरलीकृत गर्दै पीडामा परेका परिवारजनलाई थप सास्ती नदिने उपायहरु खोज्न आवश्यक रहेको पनि बताए ।
‘सडक दुर्घटनामा घाइते भएकाहरुलाई बेवास्ता गरिँदा सयौं नागरिक अङ्गभङ्ग भई उपेक्षित जीवनयापन गर्न बाध्य भएको हामी सबैले महसुस गरेकै विषय हो। सामाजिक सुरक्षा प्रत्याभूत गर्ने दायित्वबाट राज्य भाग्न नमिल्ने कुरालाई हामी सबैले मनन गर्नुछ’, उनले भने ।
सडक दुर्घटना रोकथाम गर्न सकिने विषय हो भन्दै अर्थशास्त्री डा वाग्लेले वर्षायाम सुरु हुनै लाग्दा नेपालका सडकहरुलाई थप सुरक्षित कसरी बनाउने भन्ने विषयमा सरकारका सम्बन्धित निकायहरुले तत्काल विपद्पूर्वको तयारी थाल्न आग्रह पनि गरेका छन् ।
‘सडक सुरक्षा मापदण्डको पूर्ण पालना, विपद् न्यूनीकरणको लागि पूर्वतयारी र सडक स्तरोन्नति लगायतका विषयमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण हुन आवश्यक छ। नेपाल प्रहरीसहित सरकारी निकायहरु, जनप्रतिनिधि र नागरिक सबैले मिलेर काम गर्ने हो भने हामीले हाम्रा सडकहरुलाई सुरक्षित र विश्वासिलो बनाउन सक्छौं। त्यो नै सडक दुर्घटनामा ज्यान गुमाएका हजारौं नागरिकप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। यस कार्यमा लाग्न म सबै जिम्मेवार पक्षलाई आव्ह्वान गर्दछु,’ वाग्लेले भनेका छन्।
तनहुँ १ मा भएको उप निर्वाचनमा अत्यधिक मत पाएर निर्वाचित सांसद वाग्लेले गत शुक्रबार मात्रै प्रतिनिधि सभा सदस्यको शपथ लिएका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५