गुल्मी जिल्ला समाज यूकेको साधारणसभा सम्पन्न, वार्षिक भेला अगस्ट ६ मा हुने
लन्डन–गुल्मी जिल्ला समाज यूकेको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सोमबार लन्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा सम्पन्न साधारणसभामा संस्थाका सल्लाहकार, कार्यसमितिका पदाधिकारी एवम् आजीवन सदस्यहरुले सहभागिता जनाएका थिए।
समाजका अध्यक्ष बीरबहादुर बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्यक्ष बलाल र संस्थापक अध्यक्ष ओमप्रसाद थापाले उद्घाटन गरेका थिए।
साधारणसभामा महासचिव रुद्र थापाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मुकुन्दहरि खरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो। त्यस्तै, विधान समितिका संयोजक केशव भण्डारीले पेश गरेको विधान संशोधन प्रस्तावमाथि पनि छलफल गरी पारित गरिएको थियो ।
समाजका अध्यक्ष बलालले आफ्नो गुल्मी भ्रमण र त्यसक्रममा गरिएको सहयोग हस्तान्तरणबारे जानकारी गराएका थिए।
साधारणसभामा संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष टोप पल्ली, सल्लाहकारहरु मोति भन्डारी, बालजंग अर्याल, केशव भन्डारी, विनोद ज्ञवाली, रणबहादुर खाती क्षेत्री, फत्त थापा, क्या ताम ढेगा, रोमनाथ पाण्डे, राजेन्द्र श्रेष्ठ र कृष्ण भन्डारी, आजीवन सदस्य चिन्तामणि खरेललगायतले शुभकामना दिएका थिए।
साधारणसभाले संस्थाद्वारा विगतमा भएका कार्यप्रगतिको समीक्षा गर्दै भावी कार्यदिशा तथा कार्यक्रमहरु तय गरेको छ। जसअनुसार समाजले वर्षेनी गर्दै आएको समर भेला आगामी अगस्ट ६ तारिख आइतबार गर्ने निर्णय भएको प्रवक्ता राधा खरेलले जनाइन् । उक्त कार्यक्रम संयोजन गर्ने जिम्मा समाजका उपाध्यक्ष वरुण भन्डारीलाई दिइएको छ।
महासचिव रुद्र थापाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष तारा भट्टराईले स्वागत मन्तव्य दिएकी थिइन्। सो अवसरमा गुल्मीको रुरु क्षेत्रमा गौशला स्थापना तथा परिवार व्यवस्थापनमा सहयोग पुर्याउने समाजकी सदस्य राजु मल्ललाई सम्मान गरिएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५