आइतबार, पुष २८, २०८१
01:46 | ०७:३१

लन्डन फेल्थाममा नेपालीले मनाए नयां वर्ष

नेपाली लिङ्क अप्रिल २२, २०२३

लन्डन । लन्डनको फेल्थाममा नयां वर्ष मनाइएको छ । गत सप्ताहन्त फेल्थाम एसेम्ली हलमा आयोजित कार्यक्रममा झण्डै तीनसय सहभागी थिए ।

जय सन्तोषी मां ज्वेलर्सको विशेष सहयोगमा हन्स्लो काउन्सिलर तथा पूर्व मेयर विष्णु गुरुङ, सबु सेन्चुरी, दिल घले र हर्क गुरुङ मिलेर नयां वर्ष कार्यक्रम गरेका हुन् ।

प्रमुख अतिथी फेल्थाम एण्ड हेस्टन क्षेत्रबाट लेवर पार्टीकी सांसद सीमा मल्होत्रा र विशेष अतिथी हन्स्लो मेयर काउन्सिलर रघवीन्दर सिद्युले कार्यक्रम उद्घाटन गरेका थिए ।

सो अवसरमा लन्डनस्थित नेपाली दूतावासका द्धितिय सचिव रामबाबु नेपाल, हन्स्लो काउन्सिल लिडर काउन्सिलर सान्तनु राजावत लगायत नेपाली तथा बेलायतीको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद मल्होत्राले नेपाली नयां वर्षको शुभकामनासहित नेपालीहरु आफ्नो क्षेत्रमा उल्लेख्य बढिरहेको पाउंदा अत्यन्त खुशी लागेको बताइन् ।

उनले भूतपूर्व गोर्खाहरुलाई उनीहरुले बेलायतका लागि गरेको योगदानको कदर गर्दै समान पेन्सन दिइनुपर्नेमा समेत जोड दिइन् ।

काउन्सिलर विष्णु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेयर सिद्यु, दूतावासका द्वितिय सचिव रामबाबु नेपाल, काउन्सिलर गुरुङ लगायतले शुभकामना दिएका थिए ।

दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमको शुरुवातमा सबु सेन्चुरी र अमृता गिरी गजुरेलले स्वागत नाच प्रस्तुत गरेका थिए ।

सो अवसरमा नेपालबाट आएकी राष्ट्रिय कलाकार सानु वाइवा तामाङ, सुनिल लिम्बु र मिलनले गायन प्रस्तुत गरेका थिए भने स्थानीय कलाकार विमला लगायतले आफ्नो कला प्रस्तुत गरे ।

कार्यक्रम आयोजकमध्ये एक सबु सेन्चुरीले हन्स्लो काउन्सिलको मिश्रित सांस्कृतिक कार्यक्रम होस् भन्ने चाहना र नयां वर्ष शुभकामना आदानप्रदान गर्न कार्यक्रम गरिएको उल्लेख गरिन् । भविष्यमा पनि नेपाली कला संस्कृति प्रवर्धन हुने खालका कार्यक्रम गर्न आफू सधैं अग्रसर हुने अठोट उनको छ ।

सबुले विगतदेखि नै नेपाली चाडपर्वको अवसर पारेर पार्टी गर्दै आएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू