परराष्ट्रमन्त्रीसमक्ष एनआरएनएको ८ बुँदे माग पत्र
काठमाडौं — नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई गैरआवासीय नेपाली सङ्घको प्रतिनिधिमण्डलले भेटेर बधाई दिनुका साथै आठ बुँदे मागपत्र प्रस्तुत गरेको छ ।
सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतबार मन्त्रालय पुगेको प्रतिनिधिमण्डलले नागरिकता, एनआरएन नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरणलगायत विषयमा मन्त्री साउदको ध्यानार्कषण गराएको हो । संघले मन्त्री साउद समक्ष ८ बुँदे मागपत्र समेत प्रस्तुत गरेको थियो ।
सङ्घले गैरआवासीय नेपाली नागरिकता तथा लगानीका कानूनी प्रक्रियालगायत विषयमा सम्बोधनका लागि पहल गरिदिन अनुरोध गरेको छ ।
सो अवसरमा यही मे ५ देखि ७ सम्म चेक रिपब्लिकमा आयोजना हुने युरोप क्ष्क्षेत्रीय बैठकमा प्रमुख आतिथ्यका लागि मन्त्री साउदलाई निमन्त्रणा गरिएको र उनले उक्त बैठकलाई प्राथमिकतामा राखी सम्पर्कमा रहने समेत जानकारी दिएका थिए ।
भेटमा गैरआवासीय नेपाली सङ्घका सचिव गोविन्द गौतम, अमेरिका क्षेत्रका संयोजक राम पोखरेल, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेललगायत भाषा साहित्य विभागका प्रमुख हिक्मत थापा, तेज शाह, नरेश कोइराला, रमेश पौडेल, रमेश दाहाल, भगवती बस्नेत, सरोज दाहाल, दीपक कर्ण, जीवन बम, देवेन्द्र भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीको उपस्थिति थियो ।
मन्त्रीसमक्ष पेश गरिएका एनआरएनएका ८ बुँदे माग
क) गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानून आयोगसंग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई संम्बोधन गरी कानून ल्याउन पहल गर्न ।
ख) गैरआवासीय नेपाली नागरिकता विधेयकलाई मूर्तरुप दिनुका साथै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसंग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न ।
ग) गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्न ।
घ) संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखी लामो समय विदेशमा बस्ने अनुमति प्राप्त नेपाली नागरिकको मौलिक अधिकार हनन गरेको हुँदा यथाशिघ्र उक्त धारा परिवर्तनका लागि आवश्यक पहल गरिदिन ।
ङ) गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरुलाई पनि गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिन ।
च) विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन ।
छ) नेपाली मूलका विदेशी नागरिक (पीएनओ) र गैरआवासीय नेपाली नागरिक (एनआरएन) कार्डको शुल्क अत्यन्तै महँगो भएकोले अति न्युन संख्याले मात्र उक्त कार्ड लिएका छन् । तसर्थ पीएनओ र एनआरएन कार्डको शुल्क न्युनत्तम गराउन लागि पहल गरिदिन
ज) गैरआवासीय नेपालीहरुको मागहरुको सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला तर्जुमा गरी तत्काल समाधान गर्न ।
गैरआवासीय नेपाली संघ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५