सोमबार, मंसिर १०, २०८१
05:40 | ११:२५

कतारले सन् २०२३ मा ५० लाख बढी पर्यटक भित्रयाउने

रासस/एएफपी अप्रिल १६, २०२३

दोहा, ३ वैशाख–विश्वकपपछि केही सुनसान देखिएपनि सन् २०२३ मा ५० लाखभन्दा बढी मानिसले खाडी मुलुक कतारको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका पर्यटन प्रमुखले आइतबार बताएका छन् ।

कतार एयरवेज र कतार पर्यटनका प्रमुख अकबर अल–बेकरले डिसेम्बर १९ मा भएको विश्वकप फाइनलपछि होटलहरू शान्त भएको स्वीकारे । तर उनले प्रतियोगितापछि हरेक विश्वकप आयोजकको अवस्था उस्तै रहने गरेको बताउँदै कतारका होटलहरू अझै पनि ६५ देखि ७० प्रतिशतसम्म भरिभराउ रहेको बताए ।

बेकरले सन् २०२३ को पहिलो त्रैमासिकमा ११ लाख ६० हजार पर्यटकले कतार अवलोकन गरेको पत्रकार सम्मेलनमा एएफपीसँग बताए ।

सन् २०१९ मा कोरोना भाइरस महामारी अघि करिब २१ लाख पर्यटक आएका थिए । तुलनात्मक रूपमा, प्रतिद्वन्द्वी दुबईमा २०२२ मा एक करोड ४० लाखभन्दा बढी पर्यटक भेला भएका थिए ।

आफ्नो प्राकृतिक ग्याँस सम्पत्तिमा निर्भरता अन्त्य गर्न कतारले पर्यटनका लागि पूर्वाधार र प्रमुख खेलकुद कार्यक्रमहरू आयोजना गर्न अरबौं डलर खर्च गरेको छ ।
सरकारले सन् २०३० सम्ममा वार्षिक ६० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य राखेको छ ।

‘मलाई लाग्छ, सन् २०२३ मा हामी लक्ष्यबाट धेरै टाढा हुनेछैनौं’, बेकरले भने, ‘फिफाका कारण हामीले आतिथ्य उद्योगमा धेरै पूर्वाधारहरू निर्माण गर्यौं र निःसन्देह पनि आगामी महिनाहरूमा होटेल प्रयोग दरहरू माथि जाने सुनिश्चित हामीले गर्दैछौं ।’

कतारले सन् २०२४ को अक्टोबर २ देखि मार्च २८ सम्म आयोजना हुने अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी हुने ३० लाख पर्यटकमध्ये करिब एक तिहाइ विदेशी पर्यटकले अवलोकन गर्ने अनुमान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू