आइतबार, पुष २८, २०८१
01:53 | ०७:३८

अल्डरसटमा जीआरएनसीको नयां वर्ष कार्यक्रम भव्य

नेपाली लिङ्क अप्रिल १६, २०२३

लन्डन । नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी कलाकारको प्रस्तुतिसहित ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) ले ‘नेपाली नयाँ वर्ष २०८०’ मनाएको छ । १४ अप्रिल (१ वैशाख २०८०) का दिन अल्डरसटस्थित एम्पायर हलमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा नयाँ वर्ष भव्यरुपमा मनाइएको हो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा रसमोर बरो काउन्सिलका मेयर जोन मार्स, काउन्सिल डेपुटी लिडर काउन्सिलर मौरिस सिहान, मेजर रिटायर्ड मणी राई, काउन्सिलरहरु, कमिटी लिडर र यहाँ सक्रिय नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा उपाध्यक्ष मैया डंगोल केसी र महासचिव डा. विशाल गुरुङले स्वास्थ्य तथा सुरक्षाका विषयमा जानकारी दिँदै पहिलो औपचारिक कार्यक्रम चलाएका थिए । जीआरएनसीका अध्यक्ष मनबहादुर गुरुङ, प्रमुख अतिथि राजदूत आचार्य, रसमोर बरो काउन्सिलका मेयर जोन मार्स र मेजर रिटायर्ड मणी राईले दीप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । उपाध्यक्ष उत्तरबहादुर गुरुङले स्वागत मन्तव्य दिए ।

कार्यक्रममा लोकदोहोरी गायक सागर गुरुङ, पृथ्वीमान गुरुङ, गायिका शर्मिला बिसी, बबिता बानियाँ (जेरी), सुदीप क्षेत्रीले एकल तथा दोहोरीगीत गाए भने लाइफ कोच इन्द्र गुरुङ र हिलर राजी श्रेष्ठ गुरुङले सार्थक जीवनबारे आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली राजदूत आचार्यले जीआरएनसीले नेपाली समुदायमा खेलेको भूमिकाको प्रशंसा गरे । उनले जीआरएनसीको गतिविधिका कारण नेपालको पर्यटन प्रवर्धनमा समेत टेवा पुगेको बताए । राजदूतले जीआरएनसीसँग नेपाली दूतावास हातेमालो गर्न तयार रहेको समेत आश्वासन दिए ।

जीआरएनसीका अध्यक्ष मन गुरुङले यो आफ्नो संस्थाको लागि हालसम्मकै ठूलो कार्यक्रम भएको जनाउँदै सहभागी, प्रायोजक, शुभेच्छुक र तयारीमा खटिने कार्यसमितिका सबैप्रति आभार प्रकट गरे । कार्यक्रममा प्रमुख अतिथि आचार्य र अध्यक्ष गुरुङले सांस्कृतिक समूहलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सुष्मा गुरुङ र सागर गुरुङले सञ्चालन गरेको कार्यक्रममा जीआरएनसी आवद्ध बालबालिकाले ‘जुन त लाग्यो ताराले’ रिमिक्स डान्स देखाएका थिए । त्यस्तै सयपत्री नेपाली सांस्कृतिक समूहले गुरुङ गीत र जीआरएनसीका युवाले एकल सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेको थियो ।

जीआरएनसीका सल्लाहकार क्या रि वीरबहादुर थापाले पनि ट्रयाकमा गीत गाए भने अन्य कलाकारहरु मिन गुरुङ, कुमार गुरुङ, तुलसी राना, सन्तोष पुन, दिनेश गुरुङ, रेशम पचे मगरले पनि प्रस्तुति दिएका थिए ।

त्यस अवसरमा आयोजना गरिएको राफल ड्रको प्रथम पुरस्कार बेलायती नागरिक कर्णेल रि. ड्रिक ब्राउनले ३ सय ५० पाउन्ड बराबरको सुनको जन्तर जिते । उक्त पुरस्कार श्री लक्की ज्वेलर्स अल्डरसटले प्रायोजन गरेको थियो । दोस्रो विजेता हेम गुरुङ बने । उनले ३ सय पाउन्ड बराबरको सुनको जन्तर पुरस्कार पाएका थिए । तेस्रो पुरस्कार ५० पाउन्ड लिंकन गुरुङले जितेकी थिइन् ।

सन् २००३ मा च्यारिटी संस्थाका रुपमा दर्ता भएपछि जीआरएनसीले निरन्तर नयाँ वर्ष मनाउँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू