कोभिड–१९ महामारीमा सुरक्षित हवाईयात्राबारे अभ्यास
काठमाडौं । ‘कृपया अब हामी बुद्ध एयरको उडान नं. ६०१ बाट पोखरा प्रस्थान गर्दैछौँ । बाह्र हजार फिटको उचाइबाट २५ मिनेटको यात्रापछि पोखरा विमानस्थलमा अवतरण हुनेछौँ ।
यात्रु महानुभावहरु ध्यानदिनुहोला- “कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि हवाई यात्रामा पालना गर्नुपर्ने सुरक्षा निर्देशन” कृपया आफ्नो सिटबेल्ट बाँधिदिनु होला, यात्रा अवधिभर मास्क र फेससिट लगाउनुहोला । उडानका बेला हिँडडुल नगर्नु होला, अति आवश्यक भएमात्र शौचालयको प्रयोग गरिदिनुहुन र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिनुहोला साथै उडान अवधिभर श्वासप्रश्वास सम्बन्धी केही समस्या भएमा, रिङ्गटा लागेमा विमानका कर्मचारीलाई जानकारी गराउनुहोला र विमानबाट ओर्लंदा चार–चार जना मात्र ओर्लनुहोला ।
विमान परिचारिकाले यात्रुले पालना गर्नुपर्ने कोभिड–१९ सुरक्षा निर्देशन ‘अप्नाउनुस्’ गरिसक्नासाथ विमानमा सवार एक यात्रुले ‘टिनिङ’ घण्टी बजाउँछन् । तत्कालै विमान परिचारिका ती यात्रु नजिक पुग्छिन् । यात्रुले आफूलाई सास फेर्न गाह्रो भएको र टाउको दुखेको भन्दै जहाजमा यात्रा गर्न नसक्ने बताउँछन् । उनलाई जहाजबाट उतारिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुकको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरको एटीआर–७२ जहाजमा बिहीबार भएको यो घटना वास्तविक थिएन । यो त केवल कोभिड–को महामारीबाट जोगिएर कसरी सुरक्षित उडान गर्न सकिन्छ, भनेर बुद्ध एयरले गरेको अभ्यास उडान मात्र थियो । वास्तविक उडानजस्तै गरी बुद्ध एयरले डेमोस्ट्रेशन गरेको हो । विमानमा भेटिएका सङ्क्रमित पनि अभ्यासका लागि बनाइएका व्यक्ति थिए । स्मरण रहोस् जहाजमा कोभिड–१९का सङ्क्रमित भेटिएको बाहेकका अरू सबै अभ्यास प्रक्रिया चाहिँ वास्तविक डमी अभ्यास हुन् ।
विभिन्न सञ्चारमाध्यमका २० भन्दा बढी पत्रकारलाई कोभिडबाट कसरी सुरक्षित उडान गर्ने भनेर स्थलगत अवलोकन गराइएको थियो । काठमाडौँ–पोखराको उडानमा वास्तविक यात्रुजस्तै गरेर सञ्चारकर्मी र केही बुद्ध एयरकै कर्मचारी अभ्यास उडानमा सरिक थिए । त्यस प्रयोजनका निम्ति बुद्धएयरले तीन वटा जहाज पोखरा एक र विराटनगरका लागि दुई उडानमा अभ्यास गरेको थियो ।
विमानस्थलको आन्तरिक टर्मिनलदेखिनै कोभिडबाट सुरक्षित यात्रका लागि अपनाउने स्वास्थ्य मापदण्डको प्रक्रियाको अभ्यास गरिएको थियो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशिका तथा बुद्ध एयरले बनाएको कार्यविधिसमेतलाई अवलम्बन गरी विमानस्थलमा यात्रुलाई कसरी सुरक्षित उडान गर्ने भनेर अभ्यास उडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कोभिडको महामारीको अवस्थामा हवाई उडान गर्दा यात्रुलाई कसरी सुरक्षित गर्ने तथा बुद्ध एयरको सञ्चालनमा कोभिडको सङ्क्रमण नफैलियोस् भनेर अभ्यास गरिएको बताए । ‘‘उडानमा सङ्क्रमित यात्रु पक्कै आउँछन् तर एक सङ्क्रमितबाट अर्कामा यात्रु तथा विमानका कर्मचारीमा नसरोस् भन्ने उद्देश्य हो । अबको ४० दिनमा उडान सञ्चालन हुने अपेक्षा गरेका छौँ, त्यसबखत उडान शुरु हुदाँ ९९ प्रतिशत सुरक्षित वातावरणका लागि आवश्यक सबै तयारी गरिएको छ’’, उनले भने ।
प्रबन्ध निर्देशक बस्नेतले सञ्चालन खर्च सस्तो भएकाले जहाजको भाडा पनि घट्ने विश्वास व्यक्त गरे । उनले कम्पनीले खर्च व्यवस्थापनका लागि कम्पनीका सबैखाले कर्मचारीको २० देखि ३० प्रतिशत तलब कटौती गरेको पनि जानकारी दिए । यात्रु तथा विमानका कर्मचारीको ‘कन्फिडेन्ट’ का लागि कोभिडबाट सुरक्षित हुने उपायबारे अभ्यास गरिएको कम्पनीले उल्लेख गरेको छ ।
बुद्धले १० दिनअघि आफ्ना कर्मचारीलाई छुट्टै अभ्यास उडान गराएको थियो । आगामी दिनमा यस्ता अभ्यासलाई जारी राख्ने बुद्ध एयरको भनाइ छ । कम्पनीले सामान्य अवस्थामा एक घण्टामा चार जहाजको उडान गर्ने गरेको थियो । आगामी दिनमा स्वास्थ्य मापदण्ड अपनाउँदा डेढ घण्टा समय लाग्नेछ । डिपार्चरबाट बस राख्न आधा घण्टा र जहाजभित्र राख्दा त्यतिकै समय लागेको थियो । कम्पनीले यात्रुको सुरक्षाका लागि ‘डिसइन्फेक्सन’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुपको उपयोग गर्ने जनाएको छ ।
“हाम्रो पूर्ण प्रयास यात्रुलाई शिक्षित गर्ने हो, शुरुमा यात्रुलाई केही समस्या हुन्छ, तर विस्तारै सामान्य हुन्छ, आपतकालीन अवस्थामा शौचालय उपयोग गर्न दिन्छौँ, तिर्खा लागेमा पानी पनि दिन्छौँ”, प्रबन्ध निर्देशक बस्नेतले भने । आन्तरिक उडानका यात्रुले पहिलाजस्तो ‘स्न्याक्स’ पाउँदैनन् । अहिले विश्वभरका छोटा उडानमा यस्तो व्यवस्था हटाएको बताइएको छ ।
यात्रुले शुरुमा टर्मिनल भवन छिर्नासात् दुरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइनबसी ज्वरो नाप्छन् । त्यसपछि सुरक्षापासको प्रक्रिया सकिन्छ । भित्र टिकट काउन्टरमा पनि सामाजिक दुरीका साथ बोडरिङ पास दिइन्छ । त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मुहारसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनी त्यसलाई कम्प्युटराइज गर्छन् । पाससँगै अर्को फाराम दिन्छन् उक्त फाराम यात्रुले भरेर जहाज चडेर ओर्लने बेला एयरहोस्टेजलाई दिनुपर्छ । पास लिएर अन्तिम सुरक्षा चाँचपछि यात्रु प्रतिक्षालय हुँदै सम्बन्धित गन्तव्यको उडानका लागि रयाम्प बसभित्र छिर्छन् ।
सामान्य अवस्थामा ३५ जनासम्म अटाउने ती बसमा अहिले २० देखि २२ जना मात्रै यात्रु बस्छन् । जहाज चढ्नेबेला भरयाङमै एक परिचारिकाले फेससिट वितरण गर्छिन । त्यसपछि यात्रुले आफ्नो सिटअनुसार जहाजमा बस्छन् र कोभिडसम्बन्धी स्वास्थ्य निर्देशिका अनाउन्स हुन्छ, सिटबेल्ट बाँधेर जहाज गन्तव्यतिर उड्छ । यही प्रक्रिया आगामी दिनका उडानमा हुनेछ ।
यात्रुले विमानस्थलमा करिब एक घण्टाभित्र जहाज चड्नेसम्मका सबै प्रक्रिया पूरा गरिसक्छन् । सामान्य अवस्थामा एक घण्टा अघि यात्रुलाई टर्मिनल भित्र बोलाइन्थ्यो भने अब डेढ घण्टाअघिनै भित्र छिराइन्छ । अभ्यास उडानमा विमानस्थलका उच्च अधिकारी पनि सहभागी थिए । बुद्धले अहिले एटीआर–७२ ११ सहित १३ जहाजमार्फत उडान सेवा दिइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५