क्याट यूकेको च्यारिटी २१ मेमा, आइपुगे गायक काफ्ले
लन्डन । चितवन एड ट्रष्ट यूकेले आउंदो २१ मे आइतबार एक च्यारिटी डिनर गर्ने भएको छ ।
चितवनका गरिव, विपन्न बालबालिकाका लागि अत्यावश्यक सामग्री दिन र ‘हाम्रो घर’ संस्थाको सहयोगार्थ कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रमको संयोजन राजु आचार्यले गर्दैछन् ।
बिहीबार सांझ नर्थ हयारोस्थित सरस रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा च्यारिटी कार्यक्रम सह-संयोजक कृष्ण तिवारीले ब्लु रुम स्पोर्टस् हलमा सांस्कृतिक कार्यक्रमसहित च्यारिटी हुने जनाए ।
उक्त कार्यक्रममा नेपालका लोकप्रिय गायक कृष्ण काफ्लेले कालजयी गीतहरु प्रस्तुत गर्ने तिवारीले बताए ।
परोपकारी कार्यका लागि भएकाले कार्यक्रममा सबैलाई सहभागिता जनाइदिन उनले अपिल गरेका छन् ।
पत्रकार सम्मेलनमा क्याट यूके अध्यक्ष रितेशराज पाण्डेले चितवनस्थित निम्न माध्यमिक विद्यालयका १०० जना विपन्न विद्यार्थीका लागि अत्यावश्यक सामग्री (विद्यालय पोशाक, ब्याग, पठनपाठनमा चाहिने सामग्री, अपांग बालबालिकालाई सुविधायुक्त विद्यालयमा पठाउन व्यवस्था) जुटाउन र बालबालिकाको स्याहारसुसार गरिरहेको संस्था ‘हाम्रो घर’ लाई सहयोग गर्न च्यारिटी गर्न लागिएको बताए ।
अध्यक्ष पाण्डेले विगत जस्तै यसपटक पनि सहयोग गरि कार्यक्रम सफल बनाइदिन अपिल गरेका छन् ।
महासचिव रमेश श्रेष्ठले चितवनवासीमात्र होइन्, गैर चितवनेलीलाई पनि कार्यक्रममा आइदिन आग्रह गरे । क्याट यूके संस्थापक अध्यक्ष कपिल श्रेष्ठले संस्था स्थापनाको उद्देश्यबारे प्रकाश पारे ।
सन् २००४ देखि अहिलेसम्म सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै श्रेष्ठले विगतमा कयौं च्यारिटी कार्य भएको स्मरण गरे ।
कार्यक्रममा गायक कृष्ण काफ्लेले च्यारिटी जस्तो सरहानीय कार्यका लागि जोडिन पाउंदा अत्यन्त खुशी लागेको बताए । ‘कलाकारहरुले व्यवसायिक हिसावले त कयौं कार्यक्रम गरिरहेका हुन्छन् । तर च्यारिटीका लागि भनेर यूके आउन पाउनु मेरा लागि ऐतिहासिक एवं गर्वको कुरा हो,’ गायक काफ्लेले भने ।
उनले आफूलाई आमन्त्रण गरेकामा आयोजकलाई धन्यवाद समेत दिए । गायकले आफ्ना चर्चित गीत ‘देखन चम्पा सुनन चम्पा’, ‘पर्ख पर्ख मायालु…’ गाएर च्यारिटीमा सबैलाई आउन अनुरोध गरे ।
पत्रकार सम्मेलनमा अध्यक्ष रितेशराज पाण्डे, संस्थापक कपिल श्रेष्ठ, महासचिव रमेश श्रेष्ठ, ट्रष्टी कृष्ण तिवारी, सदस्यहरु किशोर श्रेष्ठ र दिपेन्द्र अधिकारी, गायक कृष्ण काफ्ले, समाजसेवी महेश गिरी, कपिल खत्रीलगायतले च्यारिटीबारे प्रष्टयाएका थिए ।
क्याट यूके: संस्था एक, काम अनेक
सन् २००४ मा स्थापित क्याट यूके अहिले बेलायतको च्यारिटी कमिसनमा विधिवत दर्ता भएको संस्था हो । यसमा हाल ९ जना ट्रष्टी, १९ सदस्यीय कार्यसमिति र ३८१ आजीवन सदस्यसहित ४० जना सल्लाहकार छन् ।
‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी’ लाई हृदयंगम गर्दै आफ्नो जिल्लाका विपन्न वर्ग र पिछडिएका मानिसलाई शिक्षा-स्वास्थ्य, दैवी प्रकोप लगायतमा सहयोग पुरयाउने पवित्र उद्देश्यले स्थापित यो संस्था सुरूदेखि नै मानवीय तथा परोपकारी सेवामा संलग्न छ ।
यसै सिलसिलामा क्याट यूकेले विनासकारी भूकम्पबाट क्षतिग्रस्त कविलासस्थित ढोडेनी रा.प्रा.वि. तथा दाहखानी रा. मा.वि. भवन निर्माणमा ३५ लाख, माडीमा विद्यालय भवन निर्माण र एम्बुलेन्स प्रदान, अन्तोदय आधार मा.वि. चेपांग स्कुलमा खाद्यान्न साथै चेपांग वस्तीमा दशैंमा खाद्यान्न वितरण, भरतपूर अस्पतालका थेलेसिमियाका विरामीलाई रेडक्रसमार्फत सहयोग, स्वास्थ्य शिविर सञ्चालन, शरदपुर स्कुल पुस्तकालयलाई रू २ लाख १३,००० आर्थिक सहयोग, भरतपुर आंखा अस्पताल एवं नेत्र ज्योति संघ, नारायणघाट लायन्स क्लबको समन्वयमा स्थापना गरिएको आइ बैंकका लागि रू. १० लाख, नारायणी कलामन्दिर–नारायणघाट र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रुपैयां सहयोग, कोभिड महामारीका बेला अक्सिजन सिलिण्डर खरिद गर्न एक लाख, चितवन साहित्य परिषद, ‘हाम्रो घर’ लाई आर्थिक सहयोग साथै हाल निर्माणाधिन अपांग मैत्री पुस्तकालय भवन निर्माणमा १० लाख रुपैयां आर्थिक सहयोग गरिसकेको छ ।
यस वर्ष पनि क्याट यूकेले नेशनल हेल्थ सर्भिस् (एनएचएस) को सहयोगमा रक्तदान गरेको थियो।
संस्थाले जानकी बालिका आश्रम देवघाटधाम–चितवनमा अध्ययनरत बालिकाहरूका लागि आवश्यक पर्ने पाठ्यपुस्तक र अन्य सामग्री खरिदका लागि रू २ लाख आर्थिक सहयोग प्रदान गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५