‘कैदीको पत्र’ रिलिज रोकिएपछि गार्डेनमा समय बिताउंदै सनम
लन्डन । कोरोना भाइरसको चपेटामा निर्देशक सनमकुमार बैराग पनि परेका छन् । ‘लकडाउन’ का कारण बेलायतमै निर्माण भएको ‘कैदीको पत्र’ फिल्मको गीत रिलिज ढिलाई भएको छ । गीतको ‘कलर करेक्सन’ काम मात्र बांकी थियो । ‘फिल्म रिलिज मेमा गर्ने योजना पनि पोस्टपोण्ड भएको छ’- उनले नेपाली लिंकसंग भने । अचेल फूर्सदिलो समय गार्डेनमा काम गरेर बस्छन् उनी । ‘कोभिड १९ संक्रमण बढिरहंदा सरकारको निर्देशन पालना गर्नु नै एकमात्र विकल्प हो’- उनले भने ।
आफ्नो जीवन बेलायतमै समर्पित गरेका स्वर्गीय साहित्यकार ईश्वर मानन्धरको कथासंग्रह ‘कैदीको पत्र’ मा आधारित कैदीको पत्र ४० दिन लगाएर शतप्रतिशत छायांकन बेलायतको स्कटल्यान्डमा गरिएको हो । यसमा करिब २० जना बेलायती कलाकारले अभिनय गरेको निर्देशक बैराग बताउंछन् ।
फिल्ममा स्कटल्यान्डको एडिनबरा, क्रिफ, अबेरफेल्दी, केनमोर, ओबेन, किलिङग, ग्लास्गो आदिमा छायांकन गरिएको छ । फिल्ममा ३५ प्रतिशत अंग्रेजी भाषा छ । बेलायतको नेपाली नयां पुस्ता आकर्षित गर्न अंग्रेजी भाषा समावेश गरिएको सनमले बताए ।
तीव्र महत्वाकांक्षा सन्तुलन गर्न नसकिए त्यसले अनिष्ट निम्त्याउंछ भन्ने फिल्मको मूल मर्म छ । भिजन संसारले प्रस्तुत गरेको उक्त फिल्ममा बैरागको निर्देशन, गीत पटकथा एवं संवाद छ । यसमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको पनि अभिनय छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५