आइतबार, पुष २८, २०८१
05:21 | ११:०६

भूतपूर्व गोर्खा निर्देशकले बनाए ‘गोर्खा वारियर’

नेपाली लिङ्क अप्रिल २, २०२३

लन्डन । निर्माता तथा निर्देशक मिलन चाम्स नेपाली कथा वस्तुलाई विश्वभर पुरयाउने उद्देश्यले ‘गोर्खा वारियर’ चलचित्र तयार गर्दैछन् । आफैँ पूर्वगोर्खा सैनिक भएकाले उनी दश वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयासमा थिए ।

“चलचित्रको छायांकनमै तीन वर्षभन्दा बढी समय खर्चिसकेँ । यसको प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु”, निर्देशक चाम्सले भने ।

उनले गोर्खालीको वीरताको कथा देखाउने विषय भने मलाया युद्धलाई रोजे । किनकि गोर्खाली जङ्गल युद्धमा विश्वमै उच्च मानिन्छन् । त्यही कारण निर्देशक चाम्सले चार वर्ष अगाडि कथा तयार गरेका थिए ।

भूतपूर्व गोर्खालीसँगै अहिले सेवामा रहेकासम्मलाई भेटेर मलाया युद्धको बारेमा बुझी कथा तयार गरेपछि चलचित्रमा त्यो समयलाई पर्दामा देखाउन भने निकै सकस भयो । चाहिएको प्रविधि थिएन । चलचित्र भनेपछि सङ्ग्राहालयमा भएका पुराना सामान पाउनसमेत नसकेको उनले सुनाए ।

’आजभन्दा ८० वर्ष अगाडिको समय देखाउनुपर्ने भएकाले बेलायत र भारतबाट केही सामग्री पाए पनि त्यो पर्याप्त थिएन । मलाई समान जुटाउन नै एकवर्ष लाग्यो’, निर्देशक चाम्स सुनाउंछन् ।

उनले पहिलो र दोस्रो विश्वयुद्ध लडेका एवं वीरतामा अगाडि आउने गोर्खालीको कथा विश्वभर पुरयाउने उद्देश्यले चलचित्र निर्माणसँगै निर्देशन गरेको बताए । मलाया युद्धलाई चलचित्रको विषयवस्तु बनाउनाको कारण नै जङ्गलयुद्ध थियो । किनकी त्यसलाई देखाउन धेरै खर्च पर्दैन । यसको छायाङ्कन अठार दिन मलेसिया र पचास दिन सिन्धुलीमा गरिएको थियो ।

“आफैँ गोर्खाली सैनिक थिएँ । नेपालीको वीरताको कथा देखाउँन कुनै सम्झौता गर्न सकिन । किनकी हामीलाई विदेशमा गोर्खाली भनी गर्ने इज्जत निकै माथि छ”, निर्देशक चाम्सले भने ।

निर्देशक चाम्सलेसमेत चलचित्र ‘गोर्खा वारियर’ मा सामान्य चलचित्रभन्दा बढी लगानी भइसकेको बताए । “म आफैँ निर्माता समेत हुँ । विदेशमा यस्ता विषय पाउन मुस्किल छ तर हामीकहाँ व्यावसायिक जोखिमले गर्दा लगानीकर्ता नै हुदैनन् । हामी आफ्नै इच्छाशक्तिले निर्माण गरिरहेका छौँ”, चाम्सले भने ।

उनले उक्त चलचित्र विदेशमा प्रदर्शनसँगै नेपालमा समेत आउँदो वर्ष प्रदर्शन हुने जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू