सोमबार, मंसिर १०, २०८१
07:54 | १३:३९

इनारमा खसेर ३६ भक्तजनको मृत्यु

रासस /एएनआई मार्च ३१, २०२३

इन्दोर, (मध्यप्रदेश) १७ चैत-रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ ।

राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । 

सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीबार भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका थिए ।

इन्दोरका प्रहरी आयुक्त मकरन्द देवस्करले मन्दिर प्रशासनका अध्यक्ष र सचिवविरुद्ध अनजानमा हत्या गरिएको भन्दै मुद्दा दर्ता गरिएको बताएका छन् । 

आयुक्त देवस्करका अनुसार १४ जनाको उद्धार गरिउको छ । दुई जना उपचारपछि घर फर्केका छन् । एक जना अझै हराइरहेका छन् ।

पचहत्तर जना भारतीय सेनाका अधिकारीको १८ घण्टा लामो प्रयासमा उनीहरूलाई उद्धार गरिएको थियो । 

घटनाबारे जानकारी पाउने वित्तिकै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान तथा गृहमन्त्री नरेन्द्र मिश्र घटनास्थल पुगेका थिए ।

उनीहरूले द्रुत गतिमा उद्धार गर्न निर्देशन दिँदै घाइतेहरूको निःशुल्क उपचार गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए । 

राज्य सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएको छ । 

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू