सोमबार, मंसिर १०, २०८१
10:52 | १६:३७

मलावीमा चक्रवातबाट ४४७ को मृत्यु, साढे तीन लाख बढी विस्थापित

रासस/सिन्ह्वा मार्च १९, २०२३

पुरिएका शवको खोजीमा कुकुरको सहायता लिंदै प्रहरी । तस्विर सिन्हवा

ब्लान्टायर (मलावी), ५ चैत–दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट चार सय ४७ जनाको मृत्यु भएको छ भने तीन लाख ६२ हजार नौ सय २८ जना विस्थापित भएका छन् ।

आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । आँधी प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् ।

मालवीको विपद् व्यवस्थापन विभागका अनुसार चक्रवातमा परी नौ सय १८ जना घाइते भएका छन् भने दुई सय ८२ जना हराइरहेका छन् ।

देशको सुरक्षा बल, प्रहरी र उद्धारकर्मीको टोलीले खोज तथा उद्धार जारी राखेका छन् । सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा हवाई सेवामार्फत राहत सामग्री, औषधिका साथै उद्धारकर्मी पुरयाइएको छ ।

चक्रवातबाट अधिक प्रभावित जोम्बा र माचिन्गाको भ्रमणपछि शनिबार साँझ टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दै मलावीका राष्ट्रपति लाजरस चकवेराले पीडितहरूलाई सघाउन आफूले आग्रह गरेपछि केही विदेशी नियोग, सरकार, स्थानीय एवम् अन्तरराष्ट्रिय संस्था, कम्पनी र व्यक्तिले सक्दो सहयोग गरेका बताए ।

साथै उनले सबै दाताप्रति आभार पनि व्यक्त गरेका छन् । चक्रवात प्रभावित क्षेत्रको अवस्था भयावह रहेको उल्लेख गर्दै उनले थप सहायताका निम्ति अपिल पनि गरे ।

चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाइए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी छ । बाढीपहिरोको जोखिम बढेको जनाउँदै रक्षा मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ ।

यसैबीच, मलावीको शिक्षा मन्त्रालयले यो महिनाको अन्त्यसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विस्थापित परिवारलाई विद्यालयमा व्यवस्थापन गरिएकाले पठनपाठन स्थगन गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू