शनिबार, पुष २७, २०८१
15:39 | २१:२४

राष्ट्रपति पौडेललाई अमेरिका, चीन र भारतले दिए बधाई

रासस मार्च १३, २०२३

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा पदभार सम्हाल्दै । तस्बिर सौजन्य- राष्ट्रपतिको कार्यालय/रासस

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिका, चीन र भारतले बधाई ज्ञापन गरेका छन् ।

पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्ने भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।

उता, राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छन् ।

भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी पौडेल नेपालको राष्ट्रपतिमा नियुक्त भएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् ।

सो पत्रमा उनले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख छ ।

सो पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेका पनि उल्लेख गरेकी छन् ।

राष्ट्रपति पौडेलको कार्यकालमा उनको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति मुर्मुको सो बधाई सन्देशमा उल्लेख छ । द्विपक्षीय सम्बन्ध र साझेदारीका क्षेत्रमा आगामी दिनमा नजिक रहेर काम गर्न आफू इच्छुक रहेको उनले बताएकी छन् ।

यसैबीच, नवनिर्वाचित राष्ट्रपति पौडेललाई चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकामा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ गराएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू