आइतबार, पुष २८, २०८१
19:05 | ००:५०

प्रधानमन्त्री दाहालसँग सर्वोच्चले माग्यो लिखित जवाफ

रासस मार्च १०, २०२३


काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दायर गरिएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज उक्त विषयमा १५ दिनभित्र लिखित जवाफसहित प्रधानमन्त्री आफैँ वा वारेसमार्फत् उपस्थित हुन भनेको छ ।

“सङ्क्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुङ्गो नलागेको भन्ने विषयको उठान गरी न्याय र परिपूरणसम्बन्धी कानूनी उपचारका सन्दर्भमा प्रस्तुत रिट निवेदन पर्न आएको कुरा निवेदनमा व्यहोराबाट देखियो”, आदेशमा भनिएको छ, “यसर्थ यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुनुनपर्ने हो ? मागबमोजिम आदेश जारी हुनुनपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रत्यार्थी आफैँ वा कानूनबमोजिम प्रतिनिधिमार्फत र अन्य प्रत्यार्थीले महान्यायाधिवक्ता कार्यालयमार्फत लिखिल जवाफ पेस गर्नु ।”

अधिवक्ता ज्ञानेन्द्रराज आरणसमेतले दायर गरेको रिट निवेदनमा आजको सुनुवाइपछि अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै उक्त आदेश गरेको हो ।

‘रिट निवेदनमा उठाइएको विषयमा महत्त्व, गम्भीरता तथा सम्वेदनशीलतातर्फ दृष्टिगत गर्दा प्रस्तुत विषयको निरुपण छिटो छरितोरूपमा गर्नु मनासिव देखिएकाले सर्वोच्च नियमावली, २०७४ को नियम ७३ (१) बमोजिम अग्राधिकार दिइएको छ’-आदेशमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू