पोखरामा रङसँगै रमाए विदेशी पर्यटक
कास्की । डेनमार्कबाट आएकी सोफी पोखरा लेकसाइडमा निकै हर्षित देखिन्थिन् । उनको अनुहारभरि रङ दलिएको थियो । सेतो टिसर्टमा सजिएकी सोफीको कपडा पनि रङले पोतिएको थियो ।
नेपालको रङको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो । “रङ खेल्ने पर्व निकै राम्रो लाग्यो । मलाई पनि खेल्न मन लाग्यो अनि खेलिरहेको छु”, उनले भनिन्, “योभन्दा पहिला नेपाल आउँदा यस्तो रमाइलो भएको छैन । अहिले निकै खुसी छु ।”
सोफीसँगै अन्य तीन साथीहरू पनि होलीमा रङसँग रमाइरहेका थिए । उनको साथी केराङले रमाइलो गरिरहेको बताए । नेपालको यो पर्वको बारेमा डेनमार्क फर्किएपछि अरु साथीलाई पनि सुनाउने उनको भनाइ थियो । “पक्का पनि डेकमार्क गएपछि यसबारे अरु साथीलाई भन्नेछु, उनीहरू पक्का खुसी हुनेछन्”, केराङले भने ।
अमेरिकाबाट पोखरा घुम्न आएका टोमेरले रङसँग रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिए । उनले संस्कार र संस्कृतिको सम्मान गर्नसके राम्रो हुने बताए ।
होटल संघ पोखराका महासचिव राजेन्द्र ढकालले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसर प्रदान गरेकामा खुसी व्यक्त गरे । “कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो । विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ”, ढकालले भने ।
कोरोनापछि विस्तारै पर्यटकको सङ्ख्या बढ्दै गएको उनको प्रतिक्रिया थियो । समय समयमा हुने यस्तो गतिविधिले पर्यटकीय गतिविधि बढ्ने महासचिव ढकालले बताए । अहिले पोखरामा होटलको अकुपेन्सी ३० प्रतिशतको हाराहारीमा रहेको उनले जानकारी दिए ।
पोखरा आउने बाटो र हवाई उडानका कारण भनेजस्तो पर्यटक नभएको उनको धारणा छ । “मुग्लिनबाट पोखरा आउने बाटो उस्तै छ । अनि हवाई उडानमा पनि उति सारो मन गर्दैनन्”, उनले भने, “यसमा सरकारले सोच्नुपर्ने हो तर आज जुनरूपमा हर्षोल्लास छाएको छ । यस्तो खालको गतिविधि अझै हुनु जरुरी छ ।”
हर्षोल्लासको पर्वमा अप्रिय घटना हुन नदिन कास्की प्रशासनले पोखरामा सुरक्षा व्यवस्था कडा बनाएको थियो । सोही कारण कुनै अप्रिय घटना हुन नपाएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख वेदप्रसाद जोशीले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५