आइतबार, पुष २८, २०८१
07:58 | १३:४३

लन्डनमा सम्मानित भए नेपालका दुई वरिष्ठ कलाकार

नेपाली लिङ्क मार्च ५, २०२३

लन्डन । नेपाली कांग्रेस निकट दुई कलाकार लन्डनमा सम्मानित भएका छन् । नेपाली जनसम्पर्क समिति बेलायतले शनिबार एक कार्यक्रमबीच वरिष्ठ कलाकार नीर शाह र गायिका सरु थापालाई सम्मान गरेको हो ।

प्रमुख अतिथी शाह काठमाडौं क्षेत्र न. ५ का प्रमुख क्षेत्रीय सल्लाहकार-अनुगमन तथा परिचालन सचिवालय केन्द्रीय सदस्य र विशेष अतिथी थापा बागमति प्रदेश भाषा तथा संस्कृति विभाग प्रमुख हुन् ।

सम्बोधनका क्रममा वरिष्ठ कलाकार नीर शाहले नेपाली चलचित्र र राजनीतिको ऐतिहासिक पक्षबारे चर्चा गरे ।

शाहले विश्वकै पहिलो नेपाली चलचित्र ‘हरिश्चन्द्र’ भएपनि पञ्चायती व्यवस्थाको षडयन्त्रका कारण कांग्रेस संस्थापक सदस्य डिबी परियार देवव्रतले निर्देशन गरेकाले सो फिल्मलाई पहिलो भन्न कन्जुस्याईं गरिएको सुनाए । यद्यपि, नेपाली कांग्रेसको इतिहास चलचित्रको इतिहाससंग पनि जोडिएको प्रसंग उनले उल्लेख गरे ।

कलाकार शाहले नेपालको अस्थिर राजनीतिप्रति पनि असन्तुष्टि व्यक्त गरे । ‘देशको व्यवस्था बदलियो, राजनीतिक परिस्थिति बदलियो तर माइण्ड सेट बदलिएन’, उनले भने, ‘अहिले राजनीतिले आर्जन गर्नुपर्ने प्रतिष्ठामा प्रश्न चिन्ह उठेको छ ।’

अभिव्यक्ति स्वतन्त्रता बिना कलाकार बांच्न नसक्ने जनाउंदै शाहले गैर लोकतान्त्रिक सरकार क्रियाशिल रहेका बेला नेपालमा त्यो कुण्ठित भएको बताए । संविधान उल्लंघन हुन थालेको अवस्था निकै निस्सासिंदो भएको स्मरण पनि उनले गरे ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको सभापतित्वमा भएको कार्यक्रममा गायिका सरु थापाले विदेश जहां रहेपनि आफ्नो भाषा, कला संस्कृति नभुल्न र सन्ततिलाई पनि सिकाउन आग्रह गरिन् ।

उनले नेपालमा संविधान जोगाउने कुरा महत्वपूर्ण रहेको बताउंदै कांग्रेसले राष्ट्रपति पाए संविधानको रक्षा हुने दावी गरिन् ।

महामन्त्री रोमियन लिम्बुले सञ्चालन गरेको उक्त कार्यक्रममा विनोद मोक्तान, राजकुमार सुनार, अनोज चित्रकार लगायतले मन्तव्य दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू