आइतबार, मंसिर ९, २०८१
22:28 | ०४:१३

रोमाञ्चक जीतसंगै नेपाल यू-१९ विश्वकपमा

नेपाली लिङ्क मार्च २, २०२३

फाइल तस्विर

काठमाडौं -आइसिसी यू–१९ विश्वकप एशिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विश्वकपको यात्रा तय गरेको छ ।

युएईको अजमान इडन गार्डेन ओभल मैदानमा आज भएको खेलमा नेपालले युएईलाई सात रनले पराजित गर्दै आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने विश्वकपको यात्रा तय गरेको हो ।

नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा एक सय ८४ रनमा समेटियो ।

युएईका लागि इथन डिसुजाले ६६ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ५० रनको योगदान दिए भने आर्यन सक्सेनाले ३४, आर्यन्स शर्माले ३२, अमर बदामीले १९, ध्रुव परासरले १७ तथा मारुफ मर्चेन्टले अविजित १२ रन बनाए ।

नेपालका लागि दिपेश कँडेलले पाँच तथा सुवास भण्डारी र हेमन्त धामीले समान दुई-दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन जोडे । उनले ८४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५१ रन जोडेका हुन । यसैगरी विशालविक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ तथा मिलन बोहराले १० रन बनाए ।

युएईका लागि ध्रुव परासरले तीन, हरित सेट्टी र कप्तान आयन खानले समान दुई-दुई विकेट लिए । त्यस्तै हर्षित सेठ र अमर बदामीले समान एक विकेट लिए । नेपालले छनोट चरणको पाँच खेलमा पाँचै वटामा जित हासिल गरेको थियो ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ८६, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३, तेस्रो खेलमा हङ्कङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।

नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको थिएन । सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१९ विश्वकप गुमाइसकेको थियो।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो ।

प्रधानमन्त्रीद्वारा बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पुरयाएको योगदानको उच्च प्रशंसासमेत गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू