आइतबार, पुष २८, २०८१
10:12 | १५:५७

आफ्ना छोराछोरी, नाति नातिनालाई असल संस्कार दिनोस्: गुरु चिन्तामणिनाथ योगी

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२३

लण्डन — हाल बेलायत भ्रमणमा रहेका आध्यात्मिक चिन्तक गुरु डा. चिन्तामणिनाथ योगीले आफ्ना छोराछोरी, नाति नातिनालाई असल संस्कार दिन सबै अभिभावकहरुलाई आग्रह गरेका छन्।

एनआरएनए यूकेको धर्म विभागद्वारा आइतबार साउथहलस्थित विश्व हिन्दु मन्दिरमा आयोजित सत्संगलाई सम्बोधन गर्दै गुरु योगीले बेलायत वा नेपालमा घर सम्पत्ति जोडे पनि छोरा, छोरीले असल संस्कार पाएनन् भने त्यो निरर्थक हुने बताए। 

‘आफ्ना छोरा छोरीलाई योग्य, सुसंस्कृत र प्रतिभाशाली नागरिक बनाएर ठूल्ठूला पदमा नेपालमा पठाउनोस, मातृभूमिप्रति त्यो तपाईंहरुको ठूलो गुन हुनेछ,’ हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य पनि रहेका डा योगीले भने। 

उनले घरमा नेपाली बोल्न र बालबालिकाका लागि नेपाली पाठशाला संचालन गर्न पनि सुझाव दिए। 

‘प्रवासमा हाम्रो धर्म, संस्कृति र पहिचान’ विषयमा प्रवचन दिंदै योगीले प्रवासले नै श्री रामचन्द्रलाई भगवान राम र श्री कृष्णलाई भगवान श्री कृष्ण बनाएको बताए। 


रामायण, गीता तथा दिव्योपदेश घर-घरमा राख्नोस्’

‘चाडबाड धुमधामसंग मनाउनोस्। भगवान श्री रामको मर्यादा र माता सीताको आदर्श जीवन पद्धतिलाइ घरभित्र ल्याउनोस्। आफ्नो घरलाई नै मन्दिर बनाउनोस्,’ उनले भने। 

‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव भन्ने मन्त्र बालबालिकालाई सिकाउन र हरेक घरमा रामायण, गीता तथा पृथ्वी नारायण शाहको दिव्योपदेश राख्न पनि उनले सुझाव दिए।

उनले स्व-रुपान्तरणको लागि प्रयत्नरत रहन र बाहुन, क्षेत्री, मगर, गुरुङ हैन, प्रवासमा केवल नेपाली मात्रै बन्न आग्रह पनि गरे।

उक्त अवसरमा बोल्दै गैरआवासीय नेपाली संघ आइसीसीका अध्यक्ष कुल आचार्यले नेपालमा मात्रै हैन, प्रवासमा रहेका सबै नेपालीलाई एकताको एउटै सूत्रमा जोड्न आवश्यक रहेको बताए।

उनले नेपाली संस्कृति र पहिचानको प्रवर्धन गर्न र नेपाल बाहिर हुर्किरहेको दोश्रो पुस्तालाई नेपालसंग जोड्न संघले काम गरिरहेको पनि बताए।

सबै सहभागीहरुलाई स्वागत गर्दै उक्त कार्यक्रमका संयोजक पं चिरन्जीवी ढकालले डा योगीले संसारभरि भ्रमण गरेर नेपाली धर्म, संस्कृति र पहिचान जोगाउन महत्व पूर्ण योगदान गरिरहेको बताए। 

त्यस्तै एनआरएनए यूके धर्म विभागकी संयोजक सपना खनियाले गुरु डा. योगी लगायत विश्व हिन्दु मन्दिर र उपस्थित सबैलाई धन्यवाद दिइन्। 

आइतबार नै गुरु डा योगीले ह्यारो विल्डस्थित सिद्धाश्रम शक्ति केन्द्रमा आयोजित अर्को सत्संगलाई पनि सम्बोधन गरेका थिए। उनले आत्मनिरीक्षण गर्न र आफ्नो जीवनको लक्ष र मार्ग आफै निर्धारण गर्न पनि आग्रह गरे। 

उनले गत साता मिल्टन किन्समा नेपाली अभिभावकहरुले शुरु गरेको ‘नमस्ते मिल्टन किन्स नेपाली कक्षा’ को उद्घाटन गरे भने एल्सबेरीमा संचालित नेपाली कक्षाका बालबालिकालाई नेपाली संस्कृतिको महत्वबारे बताएका थिए।

काठमाडौँस्थित शान्ति सेवा आश्रमका संस्थापक डा योगी विश्व ओमकार एकता महाभियानका संयोजक पनि हुन्। 

बेलायतमा चेतना यात्राको क्रममा उनले विभिन्न नेपाली संघसंस्थाका साथै अक्सफोर्ड विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय, लन्डनस्थित सेन्ट जेम्स स्कुल, वर्ल्ड गुडविल यूके जस्ता संस्थाहरुमा भ्रमण तथा भेटघाट गरेका छन् । 

उनले अल्डरशटस्थित शिव कल्चर सेन्टर (शिव मन्दिर) तथा बौध्द गुम्बामा आयोजित सत्संगहरुलाई सम्बोधन गर्दै बेलायतमा बसोबास गरिरहेका ओमकार परिवार तथा गोर्खाली बन्धुहरुलाई एकताको एउटै मालामा आबद्ध गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू