आइतबार, पुष २८, २०८१
11:00 | १६:४५

बीसीसी यूकेले चुन्यो नयाँ नेतृत्व, अध्यक्षमा हर्क गुरुङ

पूर्ण गुरुङ फ्रेब्रवरी २६, २०२३

लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको अध्यक्षमा हर्क गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गत शनिबार अल्डरसटस्थित बीसीसी यूके गुम्बामा सम्पन्न १६ औं साधारणसभा तथा पाँचौ अधिवेशनले उनको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

यसअघि दुई कार्यकाल उपाध्यक्षको भूमिकामा रहेका गुरुङ प्रोजेक्ट मेनेजरका रुपमा लामो समयदेखि जिम्मेवारीमा थिए ।  

नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटमा प्रोपर्टी इन्भेष्टरको रुपमा परिचित गुरुङ विभिन्न संघसंस्था पनि आवद्ध छन् । अत्यन्त सरल स्वभावका गुरुङ भूतपूर्व गोर्खा हुन् । 


उक्त नयाँ पाँचौं कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा आङ्गदावा शेर्पा, उपाध्यक्षमा रोबिन गुरुङ र क्याप्टेन देब घले निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा मेजर हितमान गुरुङ, सचिवमा रिन्जी  लामा शेर्पा, कोषाध्यक्षमा मेजर शंकर गुरुङ, सहकोषाध्यक्षमा सान्त गुरुङ, मिडिया सेक्रेटरीमा सविन्द्र कुमार गुरुङ, प्रोजेक्ट मेनेजरमा वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पा, असिस्टेन्ट प्रोजेक्ट मेनेजरमा बिष्णु तामाङ, धर्म गुरुमा टुल्कु जिग्मे सामतने, पूजा कोर्डिनेटरमा बुद्ध गुरुङ, असिस्टेन्ट पूजा कोर्डिनेटरमा सानो लामा, पीआर अफिसरमा मेजर कुमार गुरुङ, असिस्टेन्ट पीरआर अफिसरमा जोय, प्रोपर्टी सेक्रेटरीमा रामचन्द्र गुरुङ, कल्चरल सेक्रेटरीमा पंच तामाङ, असिस्टेन्ट कल्चरल सेक्रेटरीमा सपन कुमार राई, फुड मेम्बरमा हर्क बहादुर गुरुङ र सदस्यहरुमा कुलबहादुर गुरुङ, टेक बहादुर गुरुङ, शान्त शेर्पा, शुक्र तामाङ र ताराबहादुर गुरुङ चयन भएका छन् ।  

सो निर्वाचन सम्पन्न गर्न बीसीसी यूकेका भूतपूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बीइएमको संयोजकत्वमा बीसीसी यूके प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार मेजर कुल बहादुर थापा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ सदस्य रहेको निर्वाचन समिति चयन भएको थियो । सोही निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो ।  

उक्त अधिवेशनमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई बीसीसी यूकेका धर्म गुरुङ टुल्कु जिग्मे सामतेन रिन्पोछेले पद तथा गोपनियताको सपथ गराएका थिए । 

सो अवसरमा निवर्तमान चौंथो कार्यसमितिका अध्यक्ष धर्म तामाङले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिलाई बधाई दिए । 


त्यस्तै, नवनिर्वाचित अध्यक्ष हर्क गुरुङले आफूलाई पाँचौं कार्यसमितिको जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद दिदैं सबैको साथ, सहयोग, सल्लाह र सुझावका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

सो अवसरमा नवनिर्वाचित अध्यक्ष गुरुङ लगायत पदाधिकारी एवं सदस्यहरुलाई बीसीसी यूकेका आमाहरु, आफन्तजन, भक्तजन र शुभचिन्तकहरुले फेटा तथा खादा लगाई बधाई तथा सम्मान गरे । 

औपचारिक रुपमा बिहान साढे ९ बजे साधारणसभा शुरु भएको थियो ।  उक्त साधारणसभामा महासचिव क्याप्टेन देब घलेले बीसीसीले गत १ बर्षमा गरेका विभिन्न कार्यबारे जानकारी गराउँदै वार्षिक प्रतिवेदन प्रस्तुत् गरे । त्यस्तै, कोषाध्यक्ष मेजर हितमान गुरुङले बीसीसी यूकेको आम्दानी, खर्च र वचत पावर पोइन्ट प्रिजेन्टेशनमार्फत प्रस्तुत् गर्दै आर्थिक प्रतिवेदन प्रस्तुत गरे । साथै,  सचिव एवं गुम्बा प्रवन्धक शारदा गुरुङले आमा समूहको वार्षिक प्रतिवेदन तथा गुम्बा संचालन, उपाध्यक्ष हर्क गुरुङले प्रोजेक्ट रिपोर्ट, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले बौद्ध शिक्षा सम्बन्धि कक्षा, कार्गे र ट्रष्टीज, उपाध्यक्ष रोबिन गुरुङले संस्थाको विधान, नियम र शर्तहरुबारे, बीसीसी युके  लण्डन ब्रान्च अध्यक्ष गोपाल तामाङले ब्रान्चको प्रतिवेदन, लण्डन ब्रान्चकी आमा अध्यक्ष दिलमाया गुरुङले  ब्रान्चको आमा समूहको प्रतिवदेन प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तुत गरेका प्रतिवेदनमाथि व्यापक छलफलपश्चात पारित भएको थियो । 


कार्यक्रममा बीसीसी यूकेका विभिन्न गतिविधिहरुलाई आफ्नो मिडियामार्फत सामाचार सम्प्रेशन गर्दै आएका नेपाली लिंक, वीनेपाली, गोर्खा मिडिया, एभरेष्ट टाइम्स, शीतलपाटी र लण्डन नेपालन्यूजलाई अध्यक्ष धर्म तामाङले प्रसंशापत्र प्रदान गर्दै सम्मान गरे । सो अवसरमा गोर्खा मिडियाका मिलन तमु, शीतलपाटीका वाचस्पती रेमी र एभरेष्ट टाइम्सका नगेन्द्र नेम्वाङ सहभागी थिए । त्यस्तै, बीसीसी यूकेका पीआर अफिसर खिम गौचन हालै ब्रिटिश अवार्डबाट सम्मानित भएकोमा बधाई तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा आर्थिक सहयोग गरेका किम बहादुर गुरुङ तथा इन्द्र कुमारी गुरुङलाई समेत  खादा लगाई सम्मान गरिएको थियो । 


बीसीसी गुम्बाका धर्मगुरुहरु टुल्कु जिग्मे सामतेन र खेन्पो टासी छिरिङले बिहान ८ बजे साङ्ग पुजा गरी शुरु भएको उक्त साधारणसभाको शुरुवातमा चौंथो कार्यसमितिका अध्यक्ष धर्म तामाङले स्वागत मन्तब्य थिए । प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ र संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङले बीसीसी यूके स्थापना, शुरु र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । साथै, बीसीसी यूकेकी आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङले  विभिन्न बिषयमा आफ्नो भनाइ राखेकी थिइन् । 

करिब १०० जनाको उपस्थिति रहेको उक्त साधारणसभाको अन्त्यमा अध्यक्ष धर्म तामाङले चौंथो कार्यसमिति भंग भएको घोषणा गरेपश्चात निर्वाचन संयोजक लेप्टन नारायण प्रसाद गुरुङले निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए । 

बीसीसी यूके अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभा महासचिव देव घलेले संचालन गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू