युक्रेनलाई सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसमक्ष बेलायती प्रधानमन्त्रीको आग्रह
लन्डन, १२ फागुन–बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबारको जी–७ बैठकमा युक्रेनलाई सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसमक्ष आग्रह गरेका छन् । उनले जारी द्वन्द्वबीच युक्रेनलाई जेट उपलब्ध गराउन सक्षम राष्ट्रहरूलाई बेलायतको समर्थन रहेको आशय व्यक्त गरेका छन् ।
उनले विश्व नेताहरूलाई युक्रेनमा नागरिक पूर्वाधारको रक्षा गर्न र फ्रन्ट लाइन डिफेन्सहरू जोगाउन मद्दत गर्नुपर्ने भन्दै तत्काल रुसविरुद्धको द्वन्द्वमा मद्दत गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री सुनकले यसअघि बेलायत भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लामो दूरीका हतियार समर्थनको प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी पोल्याण्डका प्रधानमन्त्री मेटुज मोराविकीले रुसविरुद्ध युक्रेनको रक्षाका लागि थप सहयोगको स्पष्ट र मापनयोग्य सङ्केत दिन कीभको भ्रमण गरेको पोल्याण्ड सरकारका प्रवक्ताले बताएका छन् ।
रूसी हस्तक्षेपविरूद्धको ऐक्यवद्धतास्वरूप पोल्याण्डले आक्रमणपछि भागेका ८० लाखमध्ये १५ लाखभन्दा बढी युक्रेनी शरणार्थीलाई आश्रय दिएको उनले बताए ।
इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले युरोपेली मूल्य मान्यताको रक्षाका लागि लडिरहेका युक्रेनी नागरिकप्रति स्वतन्त्र विश्व ऋणी रहेको बताएकी छन् ।
“युक्रेन एक्लो छैन र हुनेछैन, किनकि यसले स्वतन्त्रता र लोकतन्त्रको मूल्यहरूको पनि रक्षा गरिरहेको छ जसमा युरोपेली पहिचान को जन्म भएको थियो । स्वतन्त्र विश्व युक्रेनी महिला र पुरुषप्रति ऋणी छ,” उनले भनिन् ।
रूसले भने युद्धको औचित्य पुष्टि भएको र आफ्नो अभियानले सार्थकता पाएको बताएको छ । रूसका पूर्व राष्ट्रपति दिमित्री मेद्भेदेभले हाल युक्रेनमा मस्कोको ‘विशेष सैन्य अभियान’ मात्र चलेको बताउँदै आवश्यक परेको खण्डमा रूस पोल्याण्डको सीमासम्म लड्न तयार रहेको बताएका छन् । उनले भने, “विजय हासिल हुनेछ ।”
मेद्भेदेभले अगाडि भने, “सकेसम्म हाम्रो देशविरुद्ध खतराहरूको सीमाहरू पछाडि धकेल्न पोल्याण्डको सीमामा नै पुग्नु किन नपरोस् विशेष सैन्य अपरेसनका सबै लक्ष्यहरूमा पुग्न धेरै महत्वपूर्ण छ ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५