आइतबार, पुष २८, २०८१
10:45 | १६:३०

लन्डन दूतावासमा मनाइयो नेपाली सेना दिवस (तस्विरहरु)

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२३

लन्डन। लन्डनस्थित नेपाली दूतावासमा एक विशेष समारोहबीच नेपाली सेना दिवस मनाइएको छ।  

बेलायत सरकार, बेलायती सेना, विभिन्न कूटनीतिक नियोगका  प्रतिनिधि र सैन्य सहचारीहरु एवम् बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसमेतको सहभागितामा विहीबार साँझ सेना दिवस मनाइएको हो।

समारोहमा प्रमुख अतिथि बेलायती सेनाका लेफ्टिनेन्ट जर्नेल रिचार्ड वार्डलले शुभकामना दिंदै नेपाली सेनाले अन्तरराष्ट्रिय स्तरमै गौरवशाली भूमिका निर्वाह गर्दै आएकोमा प्रशंसा गरे। 

बेलायत तथा नेपालबीचको दुई सय वर्ष लामो मैत्री सम्बन्धको केन्द्रमा रहेको दुई देशका सेनाबीचको निकट सम्वन्ध तथा सहकार्य आगामी दिनमा थप सुदृढ बन्दै जाने विश्वास उनले व्यक्त गरे।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली सेनाले देशभित्र मात्र नभइ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमार्फत् विश्वशान्तिको लागि खेल्दै आएको भूमिका नेपाललाई गौरव रहेको बताए।

शान्ति मिसनमा सबैभन्दा ठूलो योगदान दिनेमा नेपाली सेना दोस्रो स्थानमा रहेको उनले जानकारी गराए।

लन्डन दूतावासका सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदारले समारोहमा सहभागीहरुलाई स्वागत गरेका थिए। उनले विगतमा राजतन्त्रदेखि अहिले संघीय गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा पनि नेपाली सेना देशको शान्ति सुरक्षा र स्थायित्वका पक्षमा सधैं अडिग भएर उभिएको बताए।

नेपाली सेना देशमा भौतिक पूर्वाधार निर्माण, आपतविपतमा मानवीय सहायता, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन लगायतमा पनि सक्रियतापूर्वक खटिएको कर्णेल गोदारले जानकारी गराए ।

समारोहमा नेपाली सेना दिवसको खुशीयालीमा केक समेत काटिएको थियो।  

सो अवसरमा कलाकारहरु सपनकुमार राई, शर्मिला बर्देवा, सितु खरेल, बिनु गोदारलगायतले नेपाली गीतहरुमार्फत् मनोरञ्जन दिलाएका थिए। 

कार्यक्रम सञ्चालन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन्।

तस्विर: सपनकुमार राई/ बाचस्पति रेग्मी 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू