क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई र शुभकामना
काठमाडौं । दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षकसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
सोही अवसरमा प्रधानमन्त्री दाहालले लिग–टु अन्तर्गत नै कीर्तिपुरमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच भएको खेलमा शतप्रतिशत जित निकालेको नेपाली टोलीलाई बधाई दिए ।
उनले क्रिकेटले हासिल गरेको सफलता खेलाडीका लागि गौरवको कुरा त हुँदै हो सम्पूर्ण खेलाडी, आम जनता र सिङ्गो राष्ट्रका निम्ति पनि गर्वको कुरा भएको बताए ।
उनले शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थका निम्ति मात्र नभई राष्ट्रको प्रतिष्ठा, देशको समग्र अर्थतन्त्र, कूटनीति क्षेत्रका निम्ति पनि खेल क्षेत्रको भूमिका निकै बढेको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले स्कटल्याण्ड र नामिबियाविरुद्ध जित हात पारेको टोलीका खेलाडीलाई जनही रु दुई लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दै आगामी खेलका लागि पनि सफलताका निम्ति शुभकामना व्यक्त गरे ।
यही फागुन १५ देखि २२ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार युएई प्रस्थान गर्दैछ । नेपालले त्यहाँ युएई र पपुवान्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै सदस्यसचिव घिसिङले उत्कृष्ट जित हासिल गर्दै सारा नेपालीलाई खुसी पारेकामा टोलीप्रति आभार व्यक्त गर्दै बधाई दिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले प्रधानमन्त्रीले भेटरै बधाई दिएको र खेलाडीको हौसला बढाएकामा धन्यवाद व्यक्त गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५