आइतबार, पुष २८, २०८१
20:55 | ०२:४०

राष्ट्रपति भण्डारी पहिलोपटक पर्वत पुग्दा…

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२३

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–२ बराहताल परिसरमा निर्माण भएको आदीबराह मन्दिरमा दर्शन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर- सन्तोष गौतम/रासस

पर्वत (जलजला) । आफ्नो कार्यकाल उत्तरार्धमा रहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार एकै दिन बागलुङ र पर्वत पुगिन् ।

बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिर अवलोकन पछि पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा पुननिर्मित आदिबराह मन्दिर उद्घाटन गर्न आउंदा गाउंले दंग देखिए ।

देशकै अभिभावक पहिलोपटक जिल्ला आउंदा निकै हर्षित छौं । राष्ट्रपतिज्यूको आगमनले यस क्षेत्रको विकास र पयर्टनले गति लिने आशा छ, स्थानीय जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले भने, राष्ट्रपतिको भ्रमणले पर्यटकीय सम्भावनायुक्त बराहताल र हम्पाल कालञ्जर क्षेत्रको प्रचार तथा पहिचान दिलाउन सहयोग पुग्ने आशा गरेका छौं ।

त्यसो त पर्वत जिल्लाकै राष्ट्रिय सभा अध्यक्ष गणेशराज तिमिल्सिना र नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी पनि गौरवानुभूति गर्दै थिए । तिमिल्सिनाले देशको अभिभावक उपस्थित हुनु गर्व र ऐतिहासिक क्षण भएको बताए ।

विकास र समृद्धिका लागि कुरा भन्दा काम बढी गर्न आवश्यक रहेको बताउंदै उनले गाउंमै कृषि उत्पादन र पर्यटन वृद्धि गरि वैदेशिक रोजगारीमा युवा पलायन रोक्न जरुरी भएको धारणा राखे ।

मुख्यसचिव शंकरदास बैरागीले लामो समयसम्म गाउं आउन नपाएकोमा आत्मग्लानी गर्दै राष्ट्रपतिको भ्रमणबाट आफूहरु खुशीमात्र होइन्, प्रशस्त सम्भावनाले भरिएको गाउंपालिकाको विकासमा टेवा पुग्ने आशा पनि व्यक्त गरे । वैदेशिक रोजगारीको सिलसिलामा पलायन युवाशक्तिलाई देशभित्रै राख्न सकेमात्र देशको आर्थिक गतिले नयां मोड लिन सक्ने उनको भनाइ थियो ।

युगल मन्दिर उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–२ बराहताल परिसरमा निर्माण भएको आदीबराह मन्दिर उदघाटन गर्दै । तस्बिर- सन्तोष गौतम/रासस

राष्ट्रपति भण्डारीले जलजला गाउँपालिका–२ पूर्णगाउँमा गर्ग गोत्रीय घर्ती क्षत्री लामिछाने तथा मौद्गल्य गोत्रीय कार्की क्षेत्रीद्धारा पुननिर्माण गरिएको युगल मन्दिर उद्घाटन गरेकी छन् ।
०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त ति कुल मन्दिर पुननिर्माणका लागि गत ०७६ माघ १६ मा सोही जिल्लाका बेलायतस्थित व्यवसायी रविन्द्रजंग लामिछानेले शिलान्यास गरेका थिए। लामिछाने मुख्य दाता हुन् ।


मन्तव्यका क्रममा राष्ट्रपतिले पर्यापर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताइन् । उनले जैविक विविधता संरक्षण र कृषि उपजको बजारीकरणका माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुरयाउन सकिने पनि उल्लेख गरिन् ।

कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै र स्वावलम्बी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाइ थियो ।

“सार्वजनिक रुपमा ध्यान पुग्न नसकेका धेरै ऐतिहासिक मठमन्दिर र पर्यटकीयस्थल मुलुकका विभिन्न स्थानमा छरिएर रहेका छन्”, उनले भनिन्, “स्थानीय, प्रदेश र संघीय सरकारले अग्रसरता लिएर यस्ता स्थलको संरक्षण, संवर्धन र प्रचार गरेको खण्डमा त्यसको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायलाई हुनेछ ।”

जलजलाको जैविक विविधतायुक्त कालञ्जर पहाड, मल्लाज दरबार, फलामेडाँडालगायत पर्यटकीय, धार्मिक र ऐतिहासिकस्थलको पूर्वाधार विकासमा ध्यानाकर्षण भएको राष्ट्रपति भण्डारीले बताइन् ।

कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जलजला गाउँपालिकालाई धार्मिक पर्यटकीय गन्तव्य र कृषिको माध्यमबाट विकसित बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

लामिछाने र घर्ती क्षेत्री समुदायले रु एक करोड ५० लाखको लागतमा दुईवटा मन्दिर निर्माण गरेको आयोजकले जनाएका छन् । मन्दिर पुनःनिर्माणका मुख्यदाता रविन्द्रजङग लामिछनेले रु २५ लाख सहयोग गरेको निर्माण समितिका नवीन जिसीले जानकारी दिए ।

समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरि हिमाल रहेका छन् । जनैपूर्णिमामा लाग्ने विशेष मेलामा पर्वतसहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् ।

मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला –२ का वडाअध्यक्ष प्रकाश जिसीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू