सोमबार, मंसिर १०, २०८१
15:26 | २१:११

युक्रेनमा शान्ति कायम गर्न चीन र फ्रान्सले समन्वय गर्ने

रासस-एएफपी फ्रेब्रवरी १६, २०२३

पेरिस ४ फागुन -फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ ।

मस्कोको महत्वपूर्ण सहयोगी र करिब एक वर्षअघि युक्रेनमाथि भएको आक्रमणको निन्दा नगरेको बेइजिङले रूसलाई वार्ताको टेबलमा फर्कन दबाब दिनेछ भन्ने विश्वास आफूलाई रहेको म्याक्रोँले बताएका छन् ।

बुधबार पेरिसमा म्याक्रोँ र वाङले युद्ध र यसले अति जोखिममा रहेका मुलुकहरूमा पार्ने विशेषगरी खाद्य सुरक्षा र वित्तीय क्षमताका असरबारे छलफल गरेका थिए ।

उनीहरूले ‘अन्तर्राष्ट्रिय कानूनअनुसार शान्तिका लागि योगदान गर्ने एउटै उद्देश्य’ व्यक्त गरेको एलिसी प्यालेसले जनाएको छ ।

फ्रान्स भ्रमणपछि वाङले शुक्रबारदेखि आइतबारसम्म हुने म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुंदै आफ्नो भ्रमणलाई निरन्तरता दिनेछन् । उनले मस्कोको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
फ्रान्सेली राष्ट्रपतिले जलवायु संकटलगायत ‘विश्वव्यापी चुनौती’ को सामना गर्न चीनसँग सहकार्य गर्ने बताएका छन् ।

वाङले बुधबार फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनासँग भेटवार्ता गरेका थिए भने बिहीबार उनले म्याक्रोँका कूटनीतिक सल्लाहकार इमानुएल बोनसँग रणनीतिक विषयमा छलफल गर्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू