आइतबार, पुष २८, २०८१
23:00 | ०४:४५

बजेट मध्यावधि समीक्षाः आकार दुई खर्ब ४४ अर्बले घटाइयो

रासस फ्रेब्रवरी १२, २०२३

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल । तस्बिर-रासस

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९-८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिएका हुन् ।

चालु आवमा कूल सरकारी खर्च रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ । बजेटको आधार १४ प्रतिशतले घटाइएको हो ।

चालु खर्चतर्फ रू ११ खर्ब ८३ अर्ब २३ करोड बराबर सुरुवाती विनियोजन थियो । त्यसलाई घटाएर रू १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८६ दशमलव ३७ प्रतिशत बराबर हो ।

त्यसैगरी पुँजीगत खर्चतर्फ रू तीन खर्ब ८० अर्ब ३८ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू तीन खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो ।

वित्तीय व्यवस्थातर्फ रू दुई खर्ब ३० अर्ब २१ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू दुई खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ । जुन सुरु विनियोजनको ९३ दशमलव ०५ प्रतिशत बराबर हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू