आइतबार, पुष ७, २०८१
08:54 | १४:३९

दोहोरो नागरिकता हुनेहरूका लागि केही विकल्प

दुर्गाप्रसाद पोख्रेल फ्रेब्रवरी ९, २०२३

दुर्गाप्रसाद पोख्रेल

दोहोरो नागरिकताका विषयमा अहिले देशभित्र र बाहिर बहस चर्किएको छ । हालसालै आएको रवि लामिछानेको नजिरबाट केही मानिसहरू बढी नै आत्तिएका छन् । पास हुन नसकेको नागरिकता विधेयक र छिन छिनमा परिवर्तन भैरहने नेतृत्वको बोलीले यसमाथि थप घिऊ थपेको छ । यसबारे केही गोष्ठीहरूमा मलाई समेत निम्तो आएको तर बेफुर्सदीले जान नभ्याएकोले यसै लेखमार्फत केही विकल्पहरू राखेको छु । 

यसमा लेखिएका विकल्पहरू केवल मेरा धारणा मात्र हुन् , कसैलाई यो वा ऊ गर्न दुरुत्साहन गरेको नसम्झिदिनुहोला । यस्ता विषयमा मुद्दा लाग्यो भने त्यो थेग्न मेरो उमेरले पनि भ्याउँदैन । दोहोरो नागरिकता वा पासपोर्ट लिएका नेपालीहरूले गर्नसक्ने केही विकल्प यस्ता हुन सक्छन्: 

१) नेपालको नागरिकता र पासपोर्ट नेपालमा नै बुझाउने । नेपालमा रहेको आफ्नो श्रीसम्पत्ति नेपाल सरकारलाई नै सुम्पिदिने वा कुनै लाइब्रेरी वा स्वास्थ्य संस्था वा आफूले मनलागेको संस्थालाई जिम्मा दिने। 

२) एयरपोर्टमा खादा माला लगाएर नेताको सम्मान गर्न बन्द गर्ने । आफ्नो अमूल्य समय निकालेर तिनलाई घुमाउन छोड्ने । आफूलाई घात गर्ने नेपाली राजनीतिक दलका भातृसंगठनको पिछलग्गु नबन्ने ।

राजनीति गर्न मन पराउनेहरूले जुन देशमा बसेको छ, त्यहीको स्थानीय राजनीतिमा भाग लिने र सांसद मन्त्री हुने । कतिपयले घुम्न आउन खोज्दा पनि भिसा लगाउन मुस्किल गौरवशाली देशको नागरिक हुन पाउनुमा गर्व गर्ने । 

३) नेपालको घर जग्गा बेचबिखन गरी power of attorney मार्फत् क्यानडा/बेलायत/अमेरिका/अष्ट्रेलिया ल्याउने र सक्नेले व्यापार व्यवसाय गर्ने, नसक्नेले घरको मोरगेज/ऋण तिर्ने, पैसा बचे अर्को घर किन्ने वा बैंकमा राख्ने ।

४) दुबै नागरिकता लिएर नेपालतिर केही दिन रवि लामिछाने जस्तै अनागरिक बन्ने र पुनः प्रक्रिया पुराएर नागरिक बन्ने । सके राजनीति गर्ने, सांसद मन्त्री बन्ने। 

५) आमरण अनसन गर्ने । कुरा सुन्नेले सुने ठीकै छ। नसुने वा सुनाउन नसके प्रेमप्रसादको जस्तै आत्मदाह गर्ने प्रयास गर्ने। धेरै जसो मुद्दामा इमोसनले काम गर्ने ठाऊँमा यसले पनि धेरथोर काम त गर्छ तर यो नेपालमा उति प्रभावकारी विधि नहुने डाक्टर केसीको अनसनले देखाएको छ । 

६)  चुपचाप लागेर टाउको बालुवामा गाडेर केही भएको छैन झै शुतुरमुर्ग भै बस्ने । भएर पनि केही नहुने र नभएर पनि के कानै भयो भनेर कोकोहोलो मच्चाउनुभन्दा केही वास्तै नगरेर आफ्नो गोरखधन्दामा लाग्ने, फुर्सद भए साथी भाइ मिलेर बारबेक्यू गरे भो, फुटबल हेरे भो । 

७) मन दुखेपनि एकपटकको नेपाली सधैंको दुःख पाउने प्रवासी नेपाली बनेर चिन्तित मात्र भएर बस्ने र मानसिक रोगको ओखती शुरु गर्ने । उताको पनि चिन्ता, यता कामको चिन्ता, मोरगेजको चिन्ता, इज्जतको चिन्ता, यता न उता हातमा जुताको चिन्ता । 

८) हाल बसेको देशको नागरिकता र पासपोर्ट बुझाउने र फिर्ता गरेको निस्सा लिएर नेपाली नागरिकता नवीकरण गर्ने र नेपाल आमाको काखमा फर्कने । कमाएको पैसाले केही व्यवसाय गर्ने । व्यवसाय गर्न नसक्नेले बैकमा राखेर व्याजले दैनिकी चलाउने । 

९) विज्ञहरूको टोली बनाउने र सरकार, कानूनविद् र विधायकहरूसँग बसेर याथातथ्य निरुपण गरी नेपालका लागि र गैर आवासीय नेपाली दुबै पक्षको कसरी पारस्परिक लाभ हुनसक्छ र त्यसको लागि कस्तो कानूनी प्रावधान उचित हुन्छ त्यसको समाधान वार्ताद्वारा गर्ने । 

१०) जुन जुन देशमा बसोवास छ, त्यहाँको सरकारमार्फत् नेपाल सरकारलाई दोहोरो नागरिकताको महत्व र यसबाट दौत्य सम्वन्धमा पर्नसक्ने सकारात्मक प्रभावबारे आह्वान गर्ने । कतिपय देशमा यो पनि मुद्दा हुनसक्छ भन्नेबारे सरकारसँग लबिंग नभएको बुझिन्छ । 

११) नेपालको नागरिकता चाहियो भन्ने माग मात्र नराखेर मातृभूमिका लागि केही सशक्त आर्थिक, सामाजिक, रोजगारमूलक योगदान गर्न अल्पकालीन र दीर्घकालीन योजनाहरू प्रस्तुत गर्ने । देशबाट लिने मात्र नभै स्पष्टरुपमा देशलाई दिने काममा अग्रसर हुने । 

१२) विवादास्पद र समस्याग्रस्त नागरिकता कानून नै हटाउन केही महिना रेमिटान्स पठाउन पूर्णतः बन्द गर्ने र  सशक्त दवाव सिर्जना गर्ने । रेमिटान्सले चलेको देश केही महिना रेमिटान्स नजाँदा कसरी चल्दो रहेछ हेर्ने । चल्यो भने यताको योगदान केही रहेनछ थाहा हुन्छ, चलेन भने सरकारको टाउको दुख्छ र दोहोरो नागरिकता बारे सोच्न बाध्य हुनेछ । 

यस्ता धेरै विकल्प हुनसक्छन् । आजभोलि १२ संख्या भाइरल भैरहेको र आयोजित गोष्ठीहरूमा बोल्ने वक्ता, अधिक वक्ताहरू श्रोताभन्दा बढी आउने भएकोले दिनभरि चल्ने कार्यक्रम भएता पनि आफ्ना कुरा ५-७ मिनेटमा सक्नुपर्ने भएकोले यसपटक यति नै राखियो । 

नेपालको जय होस् । सबै नेपालीको जय होस् । 

९ फेब्रुवरी २०२३, लण्डन, बेलायत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू