आइतबार, पुष २८, २०८१
13:43 | १९:२८

एनआरएनए यूके र नेपाल बार एसोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाली लिङ्क फ्रेब्रवरी ७, २०२३

लन्डन – एनआरएनए यूके र नेपाल बार एसोसिएसनबीच एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

बेलायत बस्ने गैर आवासीय नेपालीहरुलाई पर्ने सम्पत्ति सम्बन्धी कानूनी समस्याको प्रारम्भिक कानूनी परामर्श निशुल्क रुपमा दिन एसोसिएसनले सघाउने गरि सहमति भएको हो । नेपाल बारका नेपालभर झन्डै २१ हजार कानून व्यवसायी सदस्य छन् । 

एमओयूका परिकल्पनाकार एनआरएनए यूके उपाध्यक्ष डा. नारायण कंडेलले भूतपूर्व गोर्खा लगायत विदेशमा बसोबास गरिरहेका नेपालीको सम्पत्तिको सुरक्षा गर्न यो समझदारी  महत्वपूर्ण हुने बताए । 

उनले यूकेमा बस्ने एनआरएनहरुलाई पर्ने सम्पत्ति सम्बन्धी कानूनी समस्याको प्रारम्भिक समाधान गर्न एसोसिएसनले सघाउने बताए ।  

प्रारम्भिक सल्लाह निशुल्करुपमा पाउने र त्यहाँ उपलब्ध गराएका जानकारीहरु गोप्य रहने कंडेलले बताए । ‘रवि लामिछानेको नागरिकता सम्बन्धी विवादले संसारभरि रहेका प्रवासी नेपालीलाई चिन्तित तुल्याएको छ । यो हाम्रा लागि चुनौतीको ठूलो घन्टी हो’- कंडेलले भने- ‘त्यसैले यो समझदारी गरिएको हो । उहाँहरुको चिन्ता हामी थोरै भए पनि कम गर्न चाहन्छौं ।’ 

गैर आवासीय नेपाली संघ आइसीसीका अध्यक्ष कुल आचार्यको उपस्थितिमा हस्ताक्षर गरिएको उक्त समझदारीपत्रको प्रस्तावकमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदी छन् । 

उक्त समझदारीपत्रमा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष सुनिलबाबु खड्का र नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले हस्ताक्षर गरेका छन्  ।

साक्षीको रुपमा वरिष्ठ अधिवक्ता सुनिल कुमार पोख्रेल र डा. नारायण कंडेलको हस्ताक्षर छ । 

हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै अन्तरराष्ट्रिय कानूनविद् प्राध्यापक सूर्य सुवेदीले नेपाल कानून निर्माणको प्रक्रियामा अझै संक्रमणकालमै रहेको बताए । एनआरएनहरुसंग रहेको सीप र श्रोत नेपालको विकासमा लगाउन एनआरएनएसंग हातेमालो गर्दै नेपाल सरकारले ठोस कानून ल्याउनु पर्ने उनले बताए ।

‘नागरिकता सम्बन्धी कानून मात्रै होइन समयानुकूल अन्य धेरै कानून संशोधन गर्नुपर्छ र यसका लागि एनआरएनएले ठोस प्रस्ताव लग्नुपर्छ’, उनले सुझाए । 

कार्यक्रम गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष सुनिलबाबु खड्काको सभापतित्वमा भएको थियो । तस्बिर- शिव भण्डारी  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू