आइतबार, पुष २८, २०८१
13:52 | १९:३७

तमु समाज यूकेद्वारा पाकिस्तानका बाढी पीडितलाई २१२५ पाउन्ड सहयोग

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२३


लन्डन । तमु समाज यूकेले पाकिस्तानका बाढी पीडितका लागि २१२५ पाउन्ड सहयोग गरेको छ । गत ४ फेब्रुअरी शनिबार लन्डन वेम्बली बरहाम पार्कस्थित नेपलिज कम्युनिटी सेन्टरमा रकम हस्तान्तरण गरिएको हो ।

तमु समाज यूकेले पाकिस्तानका बाढी पीडितहरुको सहयोगार्थ गत वर्ष अक्टोबरमा आफ्ना सदस्य तथ शुभचिन्तकबाट चन्दा संकलन गरेको थियो ।

समाजले उक्त रकम बाढी पीडितका लागि लन्डन ब्रेन्टमा राहत संकलन कार्यको संयोजन गरिरहेकी लन्डन बरो अफ ब्रेन्ट काउन्सिलर इष्मा मोइनमार्फत इण्डुस हस्पिटल च्यारिटी यूकेलाई हस्तान्तरण गरेको हो।

उक्त सहयोग रकम पीडितका लागि आवश्यक औषधि तथा उपचार सामग्री खरिद गर्न प्रयोग गरिने छ । सहयोग रकम हस्तान्तरण गर्न लन्डन बरो अफ ब्रेन्ट काउन्सिलका काउन्सिलर सकिब बटले विशेष समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

राहत हस्तान्तरण कार्यक्रममा ब्रेन्ट काउन्सिलका पाँचजना काउन्सिलरहरु सकिब बट, इष्मा मोइन, टियो बेनिया, इतेसाम अफजलर अजमल अक्रम एवं तमु समाज यूकेबाट अध्यक्ष शिवकुमार गुरुङ, उपाध्यक्ष हर्कबहादुर गुरुङ, महासचिव धरमबल गुरुङ, सल्लाहकारहरु सुवसिंङ गुरुङ बिइएम, याम बहादुर गुरुङ, कन्याप्रसाद गुरुङ, केदारबहादुर गुरुङ, कार्यसमितिका सदस्यहरु हरिमान गुरुङ र गंगाबहादुर गुरुङ उपस्थित थिए।

सहयोग हस्तान्तरण कार्यक्रमका संचालक तथा समाजका महासचिव धरम बल गुरुङले तमु समाज यूकेले विगतमा गरेका परोपकारी कार्यबारे संक्षेपमा जानकारी दिएका थिए भने समाजका अध्यक्ष शिवकुमार गुरुङले उपस्थित सबै काउन्सिलरहरु र समाजका पदाधिकारीलाई स्वागत गर्दै गरिमामय उपस्थितिका लागि धन्यवादसहित आभार व्यक्त गरे ।

त्यस पस्चात तमु समाज यूके अध्यक्ष गुरुङले राहत रकम पाकिस्तानी बाढी पीडितहरुको सहयोगका लागि इण्डुस हस्पिटल च्यारिटी यूकेको नाममा २१२५ (दुई हजार एकसय पच्चीस) पाउन्डको चेक संयुक्त रुपमा काउन्सिलर सकिब बट र काउन्सिलर इष्मा मोइनलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा काउन्सिलर बटले तमु समाज यूकेले गरेका परोपकारी कार्यको प्रशंसा गर्दै बाढी पीडितका लागि राहत संकलन गरि हस्तान्तरण गरेकामा धन्यवाद ब्यक्त गरे ।

यसैगरी ब्रेन्ट काउन्सिल तथा लन्डनबाट पाकिस्तानी बाढी पीडितकालागि राहत संकलन कार्यको संयोजन गरिरहेकी काउन्सिलर इष्मा मोइनले पनि समाजका सदस्यहरु, शुभचिन्तक र सिंगो समुदायप्रति उदारभावको उच्च सराहना गर्दै धन्यवाद ब्यक्त गरिन् । उक्त सहयोग रकमले पीडितलाई ठूलो राहत पुग्ने उनको भनाइ थियो ।

अन्त्यमा समाजका महासचिव गुरुङले सम्पूर्ण चन्दादाता तथा उपस्थित काउन्सिलर एवं पदाधिकारीलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू