आइतबार, पुष २८, २०८१
13:47 | १९:३२

यूरोपमा दशौं नेपाली मुक्तक दिवस

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२३

लण्डन। नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले फेब्रुअरी २ तारिख यूरोपस्तरिय दशौं मुक्तक दिवस मनाएको छ। संस्थाका अध्यक्ष दुर्गा पोख्रेलको सभापतित्वमा भएको सो कार्यक्रम ‘भर्चुअल’ गरिएको हो ।  

कार्यक्रममा सल्लाहकार तथा कार्यक्रम संयोजक डा. रुपक श्रेष्ठले स्वागत मन्तब्यका साथ कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै केन्द्रिय अध्यक्ष रामकाजी कोनेको शुभकामना सन्देश सुनाए।

डा. श्रेष्ठले माघ १८ गते ‘पोखरा घोषणापत्र -२०७०’ जारी भएपछि नेपाली मुक्तकले एउटा निश्चित रचना विधान मुक्तक विकासमा कोशेढुंगा सावित भएकाले सोही घोषणा मितिलाई मुक्तक दिवसका रुपमा मनाउन थालिएको बताए। 

उनले मुक्तक प्रतिष्ठानले अध्यक्ष रामकाजी कोनेद्वारा यसै वर्ष स्थापना गरिएको मुक्तककार स्व. भीम दर्शन रोक्काको सम्मानमा स्थापित रु ५१ हजारको ‘भीम दर्शन मुक्तक सम्मान’ मुक्तककार यादव खरेललाई प्रदान गरिएको तथा स्व. मुक्तककारत्रय कृष्ण प्रसाद पराजुली, रत्न समशेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित रु ३१ हजारको ‘कृष्ण-रत्न-चेतन पुरस्कार’ मुक्तककार रुद्र ज्ञवालीलाई समर्पण गरिएको जनाए। 

उक्त सम्मान र पुरस्कार मुक्तककारहरुलाई प्रेरणादायी रहने श्रेष्ठले बताए। सभापति पोख्रेलले उपस्थित सबैलाई धन्यबादसहित सभा समापन गरेका थिए।


सो अवसरमा मुक्तककार जीत बुढाथोकी छन्त्याल, नानु राना, साबी श्रेष्ठ, (पोर्चुगल), राज श्रेष्ठ, प्रतिमा केसी, गंगा भण्डारी, बासु शर्मा, बिमल गिरी (बेल्जियम), अहिल्या सोहनसुवाल, शारदा पौडेल (स्पेन), रुपक श्रेष्ठ तथा दुर्गा पोख्रेलले मुक्तक वाचन गरेका थिए।

उपाध्यक्ष प्रतिमा केसीले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू