युरो क्षेत्रको अर्थव्यवस्था सोचेभन्दा राम्रो हुने अपेक्षा
डाभोस, स्विट्जरल्यान्ड, ५ माघ–युरोपेली केन्द्रीय बैंक (इसीबी) की प्रमुख क्रिस्टीन लेगार्डले युरो क्षेत्रको अर्थतन्त्र यस वर्ष सुरुमा सोचेभन्दा निकै राम्रो देखिएको बताएकी छन् ।
डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा लेगार्डले भनिन्, “पछिल्ला केही हप्तामा आर्थिक सुधारको पाटो निकै सकारात्मक भएको छ ।”
जर्मनीजस्ता केही ठूला अर्थतन्त्रले संकुचनलाई पूर्णतया पन्छाउँदै २० राष्ट्रको समूहमा मन्दीको चर्चाबीच ‘सामान्य संकुचन’ देखिएको उनले बताइन् ।
इसीबीले सन् २०२३ मा युरो क्षेत्रमा ०.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ । “त्यसैले, यो एक शानदार वर्ष होइन, तर यो हामीले सोचेको भन्दा धेरै राम्रो छ,” लेगार्डले भनिन् ।
गत वर्ष युक्रेनमा भएको युद्धका कारण बढेको ऊर्जाको मूल्य घट्न थालेपछि सुधारको आशा देखिएको हो ।
हल्का जाडो मौसमले पनि ग्याँसको अभावको डरलाई कम गर्न मद्दत गरेको छ ।
कम ऊर्जा लागतले युरो क्षेत्रको मुद्रास्फीति अक्टोबरमा १०.६ प्रतिशतमा पुगेको भएपनि गिरावट ल्याउन योगदान पुरयाएको छ ।
उपभोक्ता मूल्य वृद्धि डिसेम्बरमा ९.२ प्रतिशतमा खुम्चिएको छ, जसले मुद्रास्फीतिले अन्ततः आफ्नो चरम सीमा पार गरेको आशालाई बढावा दिएको छ ।
यद्यपि लेगार्डले मुद्रास्फीति अझै पनि ‘धेरै उच्च’ रहेको बताइन् ।
इसीबीले मुद्रास्फीतिलाई नियन्त्रण गर्न आक्रामक रूपमा ब्याज दरमा वृद्धि गरिसकेको छ र जुलाईदेखि यसको प्रमुख दरहरू २.५ प्रतिशत बिन्दुले बढाएको छ ।
लेगार्डले मुद्रास्फीतिलाई इसीबीको दुई प्रतिशतको लक्ष्यमा फर्काउनका लागि थप ब्याजदर वृद्धि हुने पनि दोहोरयाइन् । ‘हामी कोर्समा रहनेछौं’, लेगार्डले भनिन् ।