आइतबार, पुष २८, २०८१
05:29 | ११:१४

विमान दुर्घटनाबारे पाँच सदस्यीय जाँच आयोग गठन, सोमबार विदा

रासस जनवरी १५, २०२३

पोखरामा दुर्घटनाग्रस्त यति एयरलायन्सको जहाज भित्रका यात्रु निकाल्ने प्रयास गर्दै सुरक्षाकर्मी । तस्बिर- राधिका कंडेल/रासस

काठमाडौं । सरकारले पोखरामा आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।

आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेको सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

आयोग सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् ।

आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले सुझाव कार्यान्वयनको व्यवस्था मिलाउने प्रवक्ता पौडेलले बताए ।

गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्ड’ को अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक । तस्बिर- प्रदीपराज वन्त/रासस

सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता पौडेलले जानकारी दिए ।

“आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ”, उनले भने, “शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू